सुनकोशीका जनताले निर्वाध रुपमा मतदान गर्न पाइदैन भनिरहेकाछन्: प्रतिनिधीसभा सदस्य उमेदवार मनोजजंग थापा

प्रतिनिधीसभा सदस्य उमेदवार मनोजजंग थापाले निर्वाचन पछि बन्न सरकारको नेतृत्व गठबन्धनले गर्‍यो भने देश विकासको गति रोकिने र बेदेशिक हस्तक्षेव बढेर जाने बताउनुभएको छ । सुनकोशी गाउँपालिकाको खाल्टेमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनगर्दै क्षेत्र नम्बर २ का उमेदवार थापाले सो कुरा बताउनुभएको हो । उहाँले अहिलेको गठबन्धन सरकारले फेरी पनि मुलुकको शासनसत्ता सञ्चालन गरेमा सिंगो देशमा सञ्चालन भएको विकासको गति रोकिने राष्ट्रियता खतरामा पर्ने, नेपाली भूमिमा अमेरिकी सेनाले परेड खेल्ने अबस्था आउने भएकाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेका उमेदवारहरुका पक्षमा मतदान गर्नुपर्ने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो: हामी सुनकोशीको गाउँ गाउँमा डुल्यौं, उहाँहरु एमालेको उमेदवारका पक्षमा मतदान गर्न आतुर हुनुहुन्छ तर विकास र समृद्धिका पक्षमा कुनै पनि भूमिका निर्वाह गर्न नसक्ने, क्षमता नभएका व्यक्तिहरुले यहाँका जनतालाई आतंकित बनाइरहनुभएको छ । जनतामाथि डर र धाक धम्की दिने तथा मतदान प्रक्रियामा अबरोध सिर्जना गर्ने काम हुन सक्छन् भनेर कुराहरु आइरहेको छ, यस तर्फ पार्टीका नेता कार्यकर्ताहरु अत्यन्त सचेत बन्नुपर्छ ।
सुनकोशी गाउपालिका वडा नं. ६ खाल्टेमा भएको सो कार्यक्रममा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका आधा दर्जनभन्दा बढी कार्यकर्ता सो पार्टी परित्यागगरी नेकपा एमालेमा प्रवेश गरेकाछन् । नव प्रवेशीहरुलाई एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज उमा कोइराला र अर्का केन्द्रीय सदस्य एवम् प्रतिनिधीसभा सदस्य उमेदवार मनोजजंग थापाले अविर तथा माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश गर्नेहरुमा समाजवादीका सिन्धुली जिल्ला कमिटी सदस्य खेटराज थापा, ढोकरवहादु राउत, रामनारायण पसाई, वडा कमिटी सदस्यहरु लालवहादुर रम्तेल, टंक आछामी काशीनारायण श्रेष्ठलगायत रहनुभएको छ । त्यसैगरी सोही वडाका माओवादी कन्ेद्रका वडा कमिटी सदस्य मोहन नेपाली पनि बिनासर्त एमालेमा प्रवेश गर्नुभएको छ ।
नवप्रवेशीहरुलाई पार्टीमा स्वागतगर्दै उमेदवार मनोजजंग थापाले सिन्धुलीको विकास, समृद्धि र सुशासनका लागि एमालेले मात्रै नेतृत्व गर्न सक्ने र त्यसका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो । विभिन्न आस्था र विचारमा आवद्ध रहनुभएका एक लाख भन्दा बढी मानिसहरु अहिले एमालेमा प्रवेश गरिसकेको र त्यो क्रम जारी रहेको सुिनकोशी गाउँपालिकाले पनि सन्देश दिएको बताउँदै एमाले नेता थापाले अगाडि भन्नुभयो: अब मंसिर ४ गतेपछि केपी ओलीकै नेतृत्वमा एमालेको राष्ट्रिय सरकार बन्नेछ ।
एमाले अध्यक्ष केपी ओलीले पानी जहाज रेल सञ्चालन गर्ने कुरा बताउँदा आलोचना गर्ने दलहरुले आफ्नै चुनाबी घोषणापत्रमा रेल र पानी जहाजको कुरा उठाएर एमालेको विकास र समृद्धिको एजेण्डालाई संस्थागत गरिदिएको बताउनुभयो । कार्यक्रममा एमालेकी अर्की केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज उमा कोइरालाले सिन्धुली जिल्लाले वौद्धिक क्षमतावान र इमान्दार उमेदवार पाएकाले सुनकोशीका जनताले निर्धक्क भएर सूर्यमा मतदान गर्न अपील गर्नुभयो । सिन्धुलीमा इमानको राजनीति एमालेले मात्रै गरेको स्मरण गराउँदै हिंसा, आतंक र बलका भरमा राजनीति गर्ने दिन समाप्त भएको खुलासा गर्नुभयो । एमाओवादीबाट सुनकोशीका जनता आजित भएको र विकासको गतिमा अबरोध सिर्जना भएको उहाँको भनाई थियो ।
कार्यक्रममा पसमानुपातिक उमेदवार रणकुमारी वलम्पाकी, प्रदेशसभा सदस्य उमेदवार बिनोद खड्का, एमाले प्रदेश कमिटी सदस्यहरु कमल दाहाल, राकृष्ण श्रेष्ठ, बद्री दाहाल, शान्तिमान कार्की, कौशल कोइरालालगायत हुनुहुन्थ्यो ।