सत्तारुढ नेकपाले वैशाख २५ गते बोलायो स्थायी कमिटी बैठक, एजेण्डा तय गर्न अघिल्लो दिन सचिवालयको बैठक बस्ने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सचिवालय बैठकले वैशाख २५ गते बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो । बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन २४ गते दिउँसो ३ बजे सचिवालयको बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।

नेकपाका २० जना स्थायी कमिटी सदस्यले तत्काल स्थायी कमिटीको बैठक बस्नुपर्ने लिखित माग गरेका थिए । तर, प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक आवश्यक नरहेको र बैठक गरिए आफू उपस्थित नहुने अडान राख्दै आएका थिए ।

माधव नेपालनिवास कोटेश्वरमा शुक्रबार प्रचण्ड र नेपाललाई साक्षी राखेर भएको छलफलमा एक दर्जन स्थायी कमिटी सदस्यहरुले बैठकबाट कोही पनि भाग्न नपाउने र बैठकमा आउँदिनँ भन्न नपाइने दबाव दिएका थिए ।

केपी ओली पक्षले स्थायी कमिटीको बैठक टार्न खोज्ने र प्रचण्ड–माधव पक्षले बैठक गराउन खोज्ने रस्साकसीकै वीचमा ओली समूह एक कदम पछाडि हटेको छ । शनिबार सचिवालय बैठक बस्नुपूर्वसम्म ओली पक्षका नेताहरु स्थायी कमिटीको बैठक टार्ने पक्षमा थिए । नेकपाको ४५ सदस्यीय स्थायी कमिटीमा प्रचण्ड–माधव समूहको बहुमत छ ।