सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधीसभा क्षेत्र नम्बर २ को आज बसेको बैठकले केन्द्रीय सदस्य कमलजंग राईको संयोजकत्वमा ५ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
आज बसेको बैठकले आउँदो मंसिर ४ गते सम्पन्न हुने निर्वाचनलाई व्यबस्थित ढंगले अगाडि बढाउनका लागि यति ठूलो संख्यामा निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
एमाले केन्द्रीय सदस्य एवम् निर्वाचन परिचालन कमिटीका संयोजक कमलजंग राईका अनुसार निर्वाचन गतिविधीलाई व्यबस्थित र मर्यादित ढंगले सञ्चालन गर्नका लागि संघीय क्षेत्र नं. २ र ३ वटा प्रदेशसभाका क्षेत्रलाई समेटेर आज कमिटी गठन गरिएको बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो: निर्वाचनका दौरानमा हामी गाउँ गाउँमा जाँदा एमालेका पक्षमा मतदान गर्न सर्वसाधारण आतुर छन्, हामी चाहान्छौं, निर्वाचन शान्तिपूर्ण रुपमा हुनुपर्छ । निर्वाचनलाई निश्पक्ष र धाँधलीरहित ढंगले सञ्चालन गर्नका लागि हामीले जिल्ला निर्वाचन अधिकारीलाई आग्रह गरेका छौं र उहाँले त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नुहुनेछ ।
त्यसैगरी आजै बसेको संघीय क्षेत्र नम्बर २ अन्र्तगतको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नंं.२ (क) को बैठकले एमाले बाग्मती प्रदेश कमिटी सदस्य शान्तिमान कार्की र २ (ख) मा बाग्मती प्रदेश कमिटी सदस्य गणेश बुढाथोकीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । एमाले केन्द्रीय सदस्य एवम् प्रतिनिधीसभा सदस्य उम्मेदवार मनोजजंग थापाले केही दिनभित्रै पार्टीको तर्फबाट घोषणापत्र तयार हुने बताउनुभयो ।
उहाँले सिन्धुली सौगातसँग कुरागर्दै आफ्नो निर्वाचन क्षेत्र अन्र्तगत रहेको टोल, वडा र पालिका कमिटीबाट आएका सुझावहरुलाई अहिले लिपिवद्ध गर्ने काम थालिएको र त्यसलाई घोषणापत्रको रुपमा केही दिनपछि सार्वजनिक गर्ने बताउनुभयो । निर्वाचन प्रचार अभियानका क्रममा आज सुनकोशी गाउँपालिकामा स्थानीय पार्टी नेता कार्यकर्ताहरुलाई सम्बोधनगर्दै आफुमा भएको ज्ञान र शिपलाई सिन्धुलीको विकास र सम्बृद्धिमा प्रयोग गर्ने बताउनुभयो । इन्जिनियरिङ विषयमा दख्खल राख्नुभएका उम्मेदवार थापाले अगाडि भन्नुभयो: सिन्धुलीको विकासको मोडेल कस्तो बनाउने भन्ने विषयमा आफुले स्पष्ट दृष्टिकोण योजना बनाइसकेको बताउँदै एमालेले मात्रै समग्र सिन्धुलीको विकासको नेतृत्व गर्नसक्ने ठोकुवा गर्नुभयो ।
स्मरणीय छ: एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका थापा सिन्धुली जिल्ला सदरमुकामका स्थानीय बासिन्दा हुनुहुन्छ ।










