नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली क्षेत्रनंं २ का उम्मेदवारका रुपमा चर्चामा ल्याइएका मनोजजंग थापाले ८० वर्षीया बुबाको हातबाट टिका ग्रहण गर्ने बताउनुभएको छ । सिन्धुलीका मधुटार स्थित आफ्नै घरमा परिवारका सबै सदस्य र आफन्तजनका साथ दशैं पर्वलाई बनाउने तयारी गरिएको उहाँले बताउनुभयो ।
उहाँले अगाडि भन्नुभयो: असत्यमाथि सत्यको विजयको रुपमा मनाईने विजया दशमी पर्वले आउँदो निर्वाचनमा पनि सत्यको पक्षमा कहिल्यै नझुक्ने दल र उम्मेदवारलाई विजयी गराउने छ । एकातिर नेपालीहरुको महान चाड दशैं छ भने अर्कातिर देशको भाग्य र भविश्यलाई डोहोर्याउने संघ तथा प्रदेशसभा सदस्यको निर्वाचन पनि एकै साथ आएकाले पनि यसपटकको दशैंलाई अझ महत्वका साथ हेरिएको छ ।
हामी एमालेका जिम्मेवार नेता कार्यकर्ता भएकाले पनि दशैंलाई पार्टीको पक्षमा मतदान गर्ने र केपी ओली नेतृत्वको बहुमत प्राप्त सरकार गठन गरेर कमजोर बनिरहेको राष्ट्रियतालाई मजबुत बनाउनु पर्ने थप जिम्मेवारी आएको बताउँदै नेता थापाले दशैंलाई पार्टीको पक्षमा प्रचारात्मक कामसँगै मनाउन आम नेता कार्यकर्ताहरुलाई सुझाव दिनुभयो । उहाँले अगाडि भन्नुभयो: दशैं हाम्रो मौलिक चाड पर्व भएकाले तडकभडक नगरी आफ्नो गच्छेअनुसार मनाऔं र आपसी एकता र मातृत्व कायम राखौं ।











