आउँदो मंसिर ४ गतेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न गर्नका लागि कार्यतालिका अगाडि बढेसँगै सिन्धुलीमा राजनैतिक दलहरुबाट उम्मेदवारी छनोट गर्ने कार्य सकेका छन् तर उनीहरुको यो छनोट नेता कार्यकर्ता वा आफ्ना आसेपासेलाई खुशी बनाउने र झोला बोकाउने भन्दा फरक नरहेको देखिएको छ ।
सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रले सिन्धुलीको २ वटा संघीय निर्वाचन र ४ वटा प्रदेशसभा सदस्यहरुका लागि सर्बसम्मत रुपमा एकल उम्मेदवार घोषणा गर्न सकेनन् । एमाओवादी केन्द्र सिन्धुलीको बैठकले संघीय निर्वाचनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव हरिवोल गुजुरेल र पोलिटव्यूरो सदस्य राजन दाहालको नाम शिफारिश गरेको छ । तीनै जनाको नाम क्षेत्र नं. १ का लागि थियो ।
त्यसैगरी प्रदेशसभा निर्वाचनमा एमाओवादीले एकल नाम कुनै क्षेत्रबाट पनि पार्टी केन्द्रमा अनुमोदनका लागि पठाउन सकेन । अर्को सत्ता साझेदार प्रमुख घटक नेपाली कांग्रेस सिन्धुलीको अबस्था पनि एमाओवादीको भन्दा फरक छैन । नेपाली कांग्रेसमा भागमा पर्ने भनिएको सिन्धुलीको क्षेत्र नं. २ मा पूर्व पार्टी सभापति उज्वल बराल, मोहन बराल, प्रेमचन्द्र दाहाल र पार्टीका केन्द्रीय सदस्य श्याम घिमिरेको नाम शिफारिश भएको छ । त्यसैगरी माओवादीका लागि भनिएको प्रदेशसभाका २ सिटका लागि भने एक दर्जन उम्मेदवार शिफारिश भएका छन् । यो प्रकरणले पनि नेपाली कांग्रेस भित्र जनधार बलियो भएकाले भन्दा पनि नेतासँग लगनगाँठो बलियो कसिएकाले टिकेट ल्याउने निश्चित देखिएको छ ।
त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अबस्था पनि सत्तारुढ दलभन्दा धेरै पृथक छैन । एमालेका कार्यकर्ताहरुले एक पदका लागि एक उम्मेदवार छनोट गर्न मातहतका कमिटीलाई अधिकार माग गरेपनि पार्टी केन्द्रको आन्तरिक सर्कुलरलाई आधार मानेर निर्वाचन क्षेत्रीय कमिटीलाई अंकुश लगाएपछि उम्मेदवारका आकांक्षीहरुको लस्करनैं लागेको देखिएको छ ।
नेकपा एमालेबाट सर्वसम्मत रुपमा एकल उम्मेदवार छनोट हुने भाग्यमानी बनेका छन् जिल्ला अध्यक्ष रामकुमार कार्की । क्षेत्र नं. २ प्रदेशसभा ख बाट कार्की एकल उम्मेदवार पार्टी केन्द्रका लागि शिफारिशमा परेका हुन् । उनले आफ्नो उम्मेदवारी घोषणा गरेपछि अन्यले आफ्नो नाम फिर्ता लिएका थिए ।
संघीय निर्वाचनमा क्षेत्र नम्बर १ मा केन्द्रीय सदस्य मनोजजंग थापा र बाग्मती प्रदेशसभा सदस्य कौशल कोइराला, क्षेत्र नम्बर २ मा प्रदेश सांसद एवम् पूर्व मन्त्री प्रदीप कटुवाल, केन्द्रीय सदस्य सुवास देवकोटा, गंगा कार्की, नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष केदार देवकोटाको नाम पार्टी केन्द्रमा पुगेको छ । जवकी एमालेको सर्कुलरमा एक महिलासहित ३ जनाको नाम पठाउन भनिएको थियो ।
त्यसैगरी प्रदेसभा तर्फको ४ वटा सिटमध्ये ३ वटामा पनि सर्वसम्मत नाम शिफारिश हुन सकेन । तीन क्षेत्रका लागि उम्मेदवार बन्नेहरुको लस्करनैं लागेको छ ।
एकल उम्मेदवार छान्नै सकस !

राजनैतिक विश्लेषक टोमप्रसाद काफ्लेका अनुसार पुरानो पुस्ताले नयाँ पुस्तालाई स्वीकरा गर्न नसक्दा दलहरुका लागि एकल उम्मेदवारी छनोट सकसपूर्ण बनेको बताउँछन् । उनी अगाडि भन्छन्: पुराना र नयाँ पुस्ताका नेताका बीचमा असमझदारीको अबस्था सिर्जना भयो, पार्टीमा योगदानको कदर गर्ने जमाना गएको अनुभूति भइरहेको छ । सिद्धान्त र विधि पद्धतिको भन्दा बाहुबलीको प्रभाव बढ्दै जानु र पार्टीलाई स्वार्थ समूहले चलाउन थाल्नुले पनि यो अबस्था आएको हो । पछिल्लो समय राजनीति पेशा र व्यवसाय बन्दै जानु र सांसद, मन्त्री बन्ने, पैसा कमाउने र मान प्रतिष्ठा बढ्ने भएकाले पनि अहिले दलहरुका बीचमा उम्मेदवारहरुको लाइननैं लागेको उनको निश्कर्ष छ ।

त्यसैगरी अर्का लेखक डा. हरि पोखरेल उम्मेदवारहरुको लाइन लाग्नुलाई युवा पुस्तामा जागरण आएको रुपमा बताउँछन् । उम्मेदवार हुँदा चर्चामा आउने र जितिहाले आर्थिक रुपमा बलियो बन्ने भएकाले यो अबस्था आएको उनको निश्कर्ष छ । अहिलेका राजनैतिक दल र नेताहरु स्थापित पद्धति र सिस्टममा रहेनन् । पार्टीमा कन्ट्रिव्युसन नभए पनि उम्मेदवार बन्न पाउने र उम्मेदवारी घोषणाको विधी र पद्धति पनि खुकुलो भएका कारणले उम्मेदवारहरुको लस्कर लागेको पोखरेलको निश्कर्ष छ । बढ्दो सामाजिक सञ्जालको प्रयोग र विकसित देशहरुको मोडलको देखाशिखीले पनि युवा पुस्तामा आफु मात्रै अब्बल भन्ने मनोभाबनाको विकास गराएको उनको भनाई थियो ।

अर्का राजनैतिक विश्लेषक एवम् शिक्षक सुमन कोइराला सिन्धुलीका राजनैतिक दलहरुले एकल उम्मेदवार छनोट गर्न नसक्नुको मुख्यकारण गुटगत समस्यालाई मान्छन् । दलका नेताहरु अलोकप्रिय बन्दै जानु, स्वतन्त्र उम्मेदवारहरुको उदय र नेताहरुको स्वेच्छाचारीताले अहिले उनीहरुको जनताप्रति विश्वस्नीयता घटेकाले पनि यो समस्या आएको उनको भनाई छ ।
सत्ता र शक्तिमा जाने होडबाजी बढिरहेको र त्यहाँ गएपछि मान सम्मान सबै थोक पाइन्छ भन्ने मनोबिज्ञानले अहिले काम गरिरहेको कोइरालाको भनाई छ । उनका अनुसार राजनैतिक दलले देश, काल र परिस्थिति अनुसार चल्न नसक्नु र पार्टीमा धनवाद, डनवाद र परिवारवाद हाबी हुँदै गएपछि पार्टीमा लामो कालखण्ड लगानी गरेका व्यक्तिरु अगाडि आउँनै नसक्ने अबस्था सिर्जना भयो । गलत सोच, चिन्तन राखेकाहरु पार्टीभित्र बढेकाले सिन्धुलीमा दलहरुको उम्मेदवार छनोटमा लाबालस्कर देखिएको उनको निश्कर्ष छ ।

नेपाल पत्रकार महासंघ सिन्धुलीका पूर्व सभापति राजन कार्की पार्टी नेतृत्व स्थापित विधी पद्धतिबाट चल्ने भन्दा पनि आर्थिक प्रलोभनमा पर्दैगएको र पैसा भएकाहरुलाई अबसर दिएर जाने र उनीहरुनैं क्रमश लाभका पदहरुमा पुग्ने अबस्था सिर्जना भएकाले पनि उम्मेदवार छनोटमा दलभित्र सकस देखिएको बताउँछन् । उनका अनुसार नेतृत्वमा आउन लामो कालखण्ड त्याग तपस्या गरेको आधारमा आउनु पर्ने, भातृ संगठनहरुमा बसेर काम गरेको आधारमा भन्दा पनि आर्थिक रुपमा बलियो भएको र नेताहरुसँग नजिक भएकै आधारमा उम्मेदवार बन्नेहरुको जमात बढिरहेको उनको भनाई थियो । जबसम्म पार्टी नेतृत्व इमान्दार बन्दैन, उम्मेदवार छनोटमा पार्टी, संगठन निर्माणमा उसको लगानी र त्यागको विषय राखिंदैन तबसम्म यो अबस्था आइरहने उनको निश्कर्ष छ ।

नेपाल पत्रकार महासंघका सभापति कृष्णहरी घिमिरे भन्छन्: दलहरुले सर्वसम्मत रुपमा एकल उम्मेदवार छनोट गर्न नसक्नुको मुख्य कारण पार्टी नेतृत्वको बिश्वस्नीयता घट्दै गएको र क्रमश पार्टीहरु कमाण्ड बिहिन बन्न थालेको छ । प्रतिस्पर्धा राम्रो पक्ष जस्तो देखिएपनि यसले पार्टी र नेतृत्व प्रतिको जनआस्था घटाइरहेको उनको निश्कर्ष छ ।– यो समाचार बुधवारको सन्देश जनप्रिय साप्ताहिकले प्रमुखताका साथ छापेको छ ।
