आगामी चुनावमा गठबन्धनमा रहेका दलको सीट बाँडफाँडको टुंगो लगाउन आज कार्यदलको बैठक बस्दै छ। केही दिनदेखि लगातार बस्दै आएको गठबन्धन कार्यदलको बैठकमा पाँचै पार्टीले सीटको दाबी गरेका छन्। प्रतिनिधिसभामा कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी (जसपा) ले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सीट दाबी गरेका छन्।
त्यस्तै, शुक्रबारको बैठकमा प्रदेशको पनि दाबी प्रस्तुत गरेका छन्। पाँचै दलले अलि बढी नै सीट दाबी गरेको भए पनि सहमित जुट्ने कार्यदलका सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
यसका लागि आज अपराह्न ४ बजे कार्यदलको बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने बैठकले सीट बाँडफाँडको टुंगो लगाउने तयारी गरेको मन्त्री कार्कीले बताए। ‘सकभर आज सीट बाँडफाँड टुंग्याउने तयारी गरेका छौं,’ मन्त्री कार्कीले भने।
सीट बाँडफाँडको टुंगो लगाएपछि कार्यदलले आगामी चुनावका लागि साझा कार्यक्रम पनि तय गर्ने भएको छ। त्यहि कार्यक्रममा रहेर पाँचै दलले चुनावी अभियान सञ्चालन गर्ने उनको भनाइ छ।
आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव हुँदै छ। यसका लागि निर्वाचन आयोगले पनि तयारी थालेको छ। प्रत्यक्षतर्फ दल दर्ता गरिसकेको आयोगले शुक्रबारदेखि समानुपातिक तर्फ पनि दल दर्ता गर्न शुरु गरेको छ।











