युरिया मलमा कालो बजारी, किसानहरु चिन्तित, स्थानीय प्रशासन रमिते !

युरिया र डिएपी मलमा कालोवजारी बढेपछि सिन्धुलीका किसानहरु चिन्तित बनेका छन् । सरकारले जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने कुरा बताइरहेका बेला सिन्धुलीका किसानहरु समयमैं मल बिउ नपाएका कारणले पिडित मात्रै बनेका छैनन् अरु बेला ८ सय रुपैयाँमा पाइने युरिया मल अहिले २२ सय रुपैयाँमा किनेर लैजाँदा गरुणस्तरहिन परेपछि थप मर्कामा परेका छन् । अघिल्लो वर्ष एक बोरा युरियामल लगेर हालेको धान वाली हलक्क बढेको थियो, यस पटक त धान माथि उठ्दै सकेन, यसपालीको मल राम्रो परेनछ, तीनपाटन गाउँपालिका वडा नं. २ का कृषक रामवहादुर खड्काले भने । सिन्धुलीको माझीटारमा रहेको एग्रोभेटबाट २२ सय रुपैयाँ तिरेर लगेको युरियाले कामै गरेन, गाउँपालिकाले पनि हामीहरुलाई वितरण गर्न भनेर मल ल्याएको कुरा सुनेको थिएँ तर पालिकाले त हामीलाई मल दिंदै दिएन, जो टाठाबाठा थिए, उनीहरुले मात्रै पाएछन् उनले आफ्नो दुखेसो यसरी पोखे ।
मरिण गाउँपालिका वडा नं. ६ का कृषक मानवहादुर माझीले पनि यस पटकको युरिया मलले धानवालीलाई हलक्क बढाउन सकेन । मल नक्कली परेको हो कि जस्तो लाग्यो । कृषि प्राविधकलाई पनि सो कुरा बताएको थिएँ, उहाँले पनि मलको गुणस्तरमै समस्या भएकाले त्यस्तो भएको हुनसक्ने बताउनु भएको थियो, माझीले सन्देश जनप्रियसँग भने ।
माझीको जस्तै पिडा छ, कमलामाई नगरपालिका वडा नं. ७ का कृषक हेमवहादुर थापाको । मल त महंगो मुल्य तिरेर लगियो तर त्यो मलले धानमा कामै गरेन । सदरमुकामकै सहकारी र एग्रोभेटमा गुणस्तरहिन युरिया र डिएपी मल कालो बजारीमा बिक्री भइरहेको छ, तर त्यसलाई रोक्ने र किसानलाई थोरै राहत पुग्ने थियो अर्का किसान ढालवहादुर थापाले भन्नुभयो ।
उहाँले अगाडि भन्नुभयो: धान रोपेपछि मल पाइएन, केही दिनपछि महंगो मुल्य तिरेपछि त शान्तिनगर चोकको पसलबाटै लगेर खेतमा हालें तर त्यसले कामैं गरेन । उहाँले दुखेसो पोन्दै भन्नुभयो: ‘समयमा मल पाइएन, पाएपछि लगेर हाल्दा कामै गरेन ।’
सिन्धुली सदरमुकामका एग्रोभेटहरुले सहजै मल ल्याएर महंगो मुल्यमा युरिया र डिएपी मलहरु बेचिरहेका छन् । उनीहरुले भनेजति मूल्य तिरेर किसानहरुले मल लगेकौ लग्यैछन् । तर स्थानीय प्रशासन मलमा भएको कालोबजारी वारे बेखबर बनेको देखिएको छ ।
त्यसैगरी कमलाई नगरपालिकाले पनि आफ्नो पालिका भित्रका किसानहरुका लागि मल तथा विउ बिजनको आपुर्ती गर्न नसकेको गुनासो किसानहरुको छ । कृषक थापा भन्छन्: हामीले कहिल्यै स्थानीय सरकार भएको महशुस गर्न पाएनौं, किनकी किसानहरुले लगाएको कृषि उत्पादन बढाउन नगरपालिकाले कहिल्यै ध्यान दिएन । नयाँ नगरप्रमुख आएपछि कृषि क्षेत्रमा नयाँ कामहरु हुने अपेक्षा हामीले गरेका थियौं, तर कुनै शुभ संकेत देखिएन, थापाले भन्नुभयो । कमलामाई नगरपालिका वडा नं. ५ सिलामेका कृषक केदार सत्यालले पनि नगरपालिकाले किसानहरुलाई सहयोग गर्न नसकेको बताउनुभयो । किसानहरुका समस्यालाई कमलामाई नगरपालिकाले ध्यान दिनैं सकेन, उहाँले अगाडि भन्नुभयो ।– यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले प्रमुखताका साथ छापेको छ ।

No description available.