सिन्धुली/कमलामाई नगरपालिका वडा नं. ७ मा रहेको खानेपानी समस्या आजबाट हटेको छ । वर्षौदेखी खानेपानीको समस्या भोगिरहेका वडा नं. ७ का स्थानीयको समस्या सदाका लागि समाप्त भएको हो । ७ करोड लगानीमा सम्पन्न भएको सो खानेपानी आयोजनाको आज एक कार्यक्रमका बीच वाग्मती प्रदेशसभा सदस्य विनोद खड्काले जनमैत्री खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नुभएको छ ।
संघीय सरकारको ४ करोड पचास लाख र बाग्मती प्रदेश सरकारको साँढे २ करोड लगानीमा यो आयोजना सम्पन्न भएको हो । यसबाट ६ सय ५० घरधुरी लाभान्वित भएका छन् । प्रमुख अतिथिका रुपमा बोल्दै प्रदेश माननीय खड्काले एमाले नेतृत्वको सरकारका पालामा थालिएको खानेपानी योजना वडाका गौरवको योजना भएको बताउनुभयो । यहाँका नागरिकले वर्षौदेखी भोग्दै आउनुभएको खानेपानीको समस्या अब सदाका लागि अन्त्य भएको बताउनुभयो । सम्बृद्ध नेपाल शुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गराउन तत्कालिन संघीय अर्थमन्त्री युवराज खतिवडा र तत्कालिन वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको सक्रियतामा यो खानेपानी आयोजना सम्पन्न भएको उहाँले बताउनुभयो ।

अतिथिका रुपमा बोल्दै कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले वडा नं. ७ का स्थानीयको खानेपानी समस्या सामाधान भएको र त्यसलाई व्यवस्थित ढंगल सञ्चालन गर्न उपभोक्ता समितिलाई आग्रह गर्नुभयो । उहाँले नगरपालिका भित्र नमुना खानेपानी आयोजना सञ्चालन भएको बताउँदै उहाँले नाम अनुसारको जनमैत्री काम गरेर अगाडि बढ्न उपभोक्ता समितिलाई सुझवा दिनुभयो ।
कमलामाई नगरपालिका वडा नं. ७ का अध्यक्ष कर्ण घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा सैयौं स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । कार्यक्रम समापान मन्तव्य दिंदै वडाध्यक्ष घिसिङले आफ्नो वडामा रहेको खानेपानी समस्या समाधान गर्नका लागि सहयोग गर्ने तत्कालिन अर्थमन्त्री खतिवडा र मुख्यमन्त्री पौडेललाई धन्यवाद दिनुभएको थियो । उहाँले विकास आफैं आउँदेन, त्यसका निम्ती पहल गर्ने प्रदेश सांसद तथा एमालेका नेताहरुलाई पनि धन्यवाद दिनुभएको थियो ।












