निजामती कर्मचारी संगठन सिन्धुलीले शहीद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा सार्वजनिक सवारी साधनलाई डस्टबिन वितरण गरेको छ । शनिवार बिहान बिपी राजमार्गमा गुड्ने सवारी साधनलाई डस्टबिन वितरण गरेको हो ।
निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पदमबहादुर मगरको अध्यक्षता तथा केन्द्रीय सदय पुरुषोत्तम दाहालको प्रमुख आतिथ्ययतामा २० वटा सार्वजनिक सवारी साधनमा डस्टबिन वितरण गरिएको संगठनका केन्द्रीय सदस्य पुरुषोत्तम दाहालले जानकारी दिए ।
कार्यक्रममा केन्द्रीय सदस्य दाहालले संगठनको लामो प्रयास पछि नेपालको व्यवस्था परिवर्तनको आन्दोलनमा सरिक भएर आफ्नो ज्यानको आहुति दिने शहीद मनोज–झपेन्द्र–सुरेन्द्रलाई २०७४ सालमा राष्ट्रिय शहीद घोषणा गरेको बताए । संगठनले स्मृति दिवसको अवसरमा डस्टबिन वितरण कार्यक्रमले सुन्दर बिपी राजमार्गलाई स्वच्छ र सफा राख्न सन्देश दिएको उल्लेख गरे ।
आधिकारीक कर्मचारी ट्रेड युनियनसिन्धुलीका अध्यक्ष तिलकबहादुर कार्कीले निजामती कर्मचारी संगठनले स्थापना दिवस, स्मृति दिवसमा रचनात्मक र सामाजिक क्षेत्रमा हरेक वर्ष काम गर्दै आएको बताए ।संगठनले बिपी राजमार्गमा गुड्ने सवारी साधनलाई सवारी साधनबाट निस्कने फोहोरलाई सडकमा नफाली डस्टबिनमा राखी फोहोर व्यवस्थापनमा सहयोग गर्न अनुरोध सहित डस्टबिन वितरण गरेकोमा धन्यवाद दिए ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका इन्चार्ज जेजंग कार्कीले यस्ता जनचेतनामूलक कार्यक्रमले यात्रुमा अनुशासनको पालना बृद्धि भई राजमार्ग स्वच्छ र सफा रहने बताए । राजमार्ग भएर यात्रा गर्ने यात्री र सवारी चालकलाई अनुशासनको पालना गर्न अनुरोध गरे । डस्टबिन वितरण कार्यक्रमको सञ्चालन संगठनका सचिव डिल्ली सौगात घिमिरेले गरेका थिए ।




फोटो: प्रदेशखबर डटकम