राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको सुनकोसी मरिण डाइभर्सन बहुउद्देशीय आयोजनामा कार्यरत मजदुरहरुले न्यूनतम ज्याला समेत नपाएको भन्दै आन्दोलित भएका छन्। जिल्ला दररेट अनुसारको न्यूनतम पारिश्रमिक आफुहरुले पाउनु पर्ने माग राख्दै शनिबारबाट मजदुरहरुले काम ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्।
कमलामाई नगरपालिका २ कुसुमटारस्थित सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङमार्गमा कार्यरत मजदुरहरुले ठेक्का पाएको चाइनिज कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभ्याक) ले जिल्ला दररेट अनुसारको न्यूनतम ज्याला नदिएको भन्दै काम ठप्प पारेर आन्दोलित भएका हुन्।

जिल्ला दररेट अनुसार अदक्ष (मजदुर) को ज्याला ८०० कायम भएकोमा डाइभर्सन अन्तर्गत सुरुङको ठेक्का पाएको कोभ्याकले ८ घण्टा काम गरेको ५ सय ८० मात्र दिँदै आएको छ। दक्ष मजदुरको ज्याला जिल्ला दररेटमा एक हजार भएपनि कम्पनीले ७०० रुपैयाँ मात्रै दिँदै आएको उनीहरुले बताएका छन्।
सुरुङ खन्नको लागि प्रवेश मार्गमा पाँच सय भन्दा बढी नेपाली मजदुरहरु कार्यरत रहेका छन्। न्यूनतम पारिश्रमिकको मागसहित १० ओटा अन्य माग राखेर मजदुरहरु आन्दोलनमा उत्रिएका छन्। आयोजनालाई सम्बोधन गरी १० वटा माग राखेर आन्दोलनमा उत्रिएको मजदुर लालवहादुर स्याङतानले बताए ।
मजदुरहरुले जिल्ला दररेट अनुसारको ज्याला पाउनुपर्ने, ओभर टाइमको रकम डेढी हुनुपर्ने, शनिबार तथा अन्य विदाको दिनको हाजिरा पाउनुपर्ने, रात्रिकालीन कामको दोब्बर ज्याला हुनुपर्ने, श्रमिकहरुलाई काममा विभेद हुन नहुने, पुरानो कामदार हुँदा हुँदै नयाँ राख्न नपाउने, मजदुरलाई शुद्ध खानेपानीको व्यवस्था, दिउँसो खाजा खाने समय आधा घण्टा दिनुपर्ने, कामदारमाथि अभद्र व्यवहार हुन नहुने, प्राथमिक उपचार र दुर्घटना बीमाको व्यवस्था हुनुपर्ने माग विज्ञप्तिमा उल्लेख गरिएको छ।

आयोजनामा कार्यरत मजदुरहरुले सुरुङ प्रवेश मार्गको काम थालनी भएपछि दररेट अनुसारको ज्याला दिने सहमति भएपनि ५० मिटर सुरुङ तयार भएर थप सुरुङ खन्नका लागि टिबीएम मेशिन जडान भइरहँदा समेत कुनै सम्बोधन नभएकाले आन्दोलन उत्रन बाध्य भएको मजदुर मिलन विश्वकर्माको भनाइ छ। ठेकेदार कम्पनीले मजदुरहरुसँग वार्ता गरेर जिल्ला दररेट अनुसारको पारिश्रमिकको व्यवस्था गर्ने पहल गर्ने आयोजना प्रमुख मित्र बरालले बताए।
सुनकोसी नदीको पानी सुरुङबाट मरिणखोलामा खसाली तराइका खेतीयोग्य जमीनमा सिंचाइ सुविधा पुर्याउने उदेश्यले सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारमा ८ महिना अघिदेखि सुरुङ खन्नका लागि टनेल बोरिङ मेशिन (टीबीएम) को प्लेटफर्म निर्माण भैरहेको आयोजनाले जनाएको छ।
सिन्धुली र रामेछाप जिल्लाको सिमानामा पर्ने खुर्कोटबाट सुनकोसी नदीमा बाध बनाएर पानी डाइभर्सन गरी १३ दशमलव १ किलोमिटर सुरुङमार्फत् मरिन खोलामा पानी झार्न धमाधम काम सुरु भएको छ। सुनकोसीबाट मरिन नदीमा र मरिनबाट ४२ किलोमिटर दुरीमा रहेको बागमती बाधमा सुनकोसीको पानी पुर्याइ तराईको धनषा, महोत्तरी, सर्लाही, बारा र रौतहट जिल्लाका १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा यस आयोजनाले पुर्याउने भएको छ।
यो आयोजना तत्कालिन नेकपाको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । बर्तमान गठबन्धन सरकारले यो आयोजनालाई असफल बनाउन लागिरहेको आरोप लाग्न थालेको छ ।











