नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ सिन्धुलीकी अध्यक्ष पार्वती सुनुवारले स्थानीय निर्वाचनमा सहयोग गरेको रकम संगठनलाई फिर्ता गरेकी छन् । अनेमसंघका सदस्यहरुले स्थानीय तहको निर्वाचनमा गरेको ६२ हजार रुपैयाँ आर्थिक सहयोग रकम आज संगठनमैं फिर्ता गरेकी हुन्। फिक्कल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी सुनुवारले अनेमसंघको खातामा रहने गरि उक्त रकम फिर्ता गरेको बैठकमा बताएकी थिइन्।
उनले अनेमसंघ सिन्धुलीका पदाधिकारीलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी छिन् । अध्यक्ष सुनुवारले आफ्नो जितेसँगै उक्त रकम संघको खातामा रहने र संगठन सञ्चालन तथा व्यवस्थापनमा खर्च हुने गरि फिर्ता गरेको बताईन् । उनी सिन्धुलीका नौ स्थानीय तहमध्ये नेकपा एमालेबाट प्रमुखमा विजयी बनेका दुई अध्ये एक पालिका अध्यक्ष हुन् ।
सिन्धुलीमा फिक्कल र गोलन्जोर गाउँपालिकाले मात्रै एमालेले विजयी भएर पार्टीको नाक जोगाइदिएको थियो । निर्वाचनका बेला आफु सम्बद्ध संगठनले दिएको चुनाबी सहयोग रकम फिर्ता गर्ने अध्यक्ष सुनुवार संभवत देशमैं पहिलो पालिका अध्यक्ष मानिएकी छिन् । अनेमसंघ सिन्धुलीको आज बसेको बैठकमा एमालेकी केन्द्रीय सदस्य उमा कोइराला, महिला नेतृहरु रस्मिला देवकोटा, मञ्जु दाहाल, विमला पाण्डे, रमा कार्की, मेनुका तिमल्सिनालगायतको उपस्थिति रहेको थियो ।











