काठमाडौंको नयाँ बानेश्वरमा रहेको जनता टेलिभिजनमा पत्रकाहरूले धर्ना दिएका छन् । उक्त संस्थामा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीहरूले लामो समयदेखि पारिश्रमिक नपाएपछि श्रमजीवी पत्रकार संघको अगुवाइमा आज टेलिभिजन परिसरमा धर्ना दिइएको हो ।
उक्त धर्ना कार्यक्रममा सो संस्थाका पीडित कर्मचारी तथा पत्रकार र विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको संलग्नता रहेको थियो ।
धर्ना कार्यक्रमलाई सम्वोधन गर्दै श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले अहिलेको २१औं शताव्दीमा आएर पनि बौद्धिक शोषण गर्ने लाजमर्दो कुरा रहेको बताए । उनले टेलिभिजन व्यवस्थापनले बाँकी रहेको बक्यौता नदिएसम्म विभिन्न चरणको आन्दोलन गरिने समेत बताए ।
धर्ना कार्यक्रममा श्रमजीवी पत्रकार संघ, नेपालका महासचिव धनञ्जय बुढा, कानुनी सल्लाहकार विष्णु कुमार गिरी, राष्ट्रिय समाचार समितिका प्रकाश सिलवाल, लगायत एक दर्जनबढी पत्रकारहरूको सहभागीता थियो ।
धर्नामा सहभागीहरूले “जनता टिभीमा काम गरेका सम्पूर्ण श्रमजीवीको बाँकी बक्यौता तत्काल भुक्तानी गर”, पटक पटक झुक्याएर पत्रकारलाई दुःख दिने हर्कत बन्द गर, श्रमजीवी पत्रकार ऐनले तोकेको सेवासुविधा र सामाजिक सुरक्षा कोष तत्काल लागू गर” लेखेको प्लेकार्ड बोकेका थिए ।
पीडित पत्रकार तथा कर्मचारीहरूले टेलिभिजन व्यवस्थापन सामू तीन दिने अल्टिमेटम दिँदै ६ बुँदे माग राखेका छन् । पारिश्रमिक भुक्तानीको सम्बन्धमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि संस्थाले प्रतिवद्धता जनाएअनुसार पारिश्रमिक भुक्तानी नभएका कारण आन्दोलनका कार्यक्रम अधि सार्न बाध्य भएको एक पीडित पत्रकारले केटिएम दैनिकसँग बताए ।
जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा. विजय पौडेलले चाँडै नै समस्याको समाधान गरिने बताए । उनले बक्यौता बाँकी रहेका पत्रकार तथा कर्मचारीको पारिश्रमिक भुक्तानि गर्ने प्रतिवद्धता जनाएका छन् ।
