निर्वाचन सबथोक हो र निर्वाचनसम्म मात्र पार्टी हो भन्ने मानसिकताबाट मुक्त हुन पार्टी नेतृत्वलाई पोलिटव्यूरो सदस्य दाहालको सुझाव

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका पोलिटव्यूरो सदस्य राजन दाहालले पार्टी नेतृत्वलाई निर्वाचन सबथोक हो र निर्वाचनदेखि निर्वाचनसम्म मात्र पार्टी हो भन्ने मानसिकताबाट मुक्त हुन सुझाव दिनुभएको छ । बिहिवार बिहान सामाजिक सञ्जाल मार्फत उहाँले सो सुझाव दिनुभएको हो । उहाँले सिङ्गो पार्टी पङ्तिभित्र पद प्राप्तीका लागि मरिहत्ते गर्ने प्रवृत्ति बढेको र अझ सरकारी लाभको पद भने पछि मरिहत्ते गर्ने प्रवृत्तिलाई नियन्त्रण लिन पार्टी नेतृत्वलाई सुझाउनु भएको हो । उहाँले क्रान्तिकारी पार्टी निर्माणमा जोड दिंदै अगाडि लेख्नु भएको छः शहर र मधेसमा पार्टी बलशाली नभै समाजवादी क्रान्तिको वास्तविक नेतृत्व प्रदान गर्न सकिन्न र बैधानिक मोर्चामा पनि विजयी वन्न सकिन्न। त्यसैले समाजवाद प्राप्तिको लागि पार्टीलाई क्रान्तिकारीकरण गर्नु अनिवार्य छ।
उहाँले निर्वाचनलाई पनि समाजवादी क्रान्तिको सशक्त सहयोगी मोर्चाको रूपमा बुझेर उपयोग गर्न आवश्यक छ। समाजवादी क्रान्तिको आधार तयार पार्न पार्टीको मुख्य शक्ति शहर केन्द्रित गर्न र प्राथमिकता दिनुका साथै
कुशल सङ्गठकहरूलाई शहरको नेतृत्व दिनु अनिवार्य भएको बताउनुभएको छ । उहाँले अर्को पोष्टमा लेख्नु भएको छः राम्रो प्रस्ताव भए पनि आफू र आफ्नाले पेश नगरेको भए बिरोध र नराम्रो प्रस्ताव भए पनि आफू र आफ्नाले पेश गरेको भए समर्थन अनि बहुमतको निर्णय र बलियाको शासन नै पूँजीवादी व्यवस्थाको सार हो।