सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा संकट गहिरिँदै जाँदा उत्पन्न परिस्थितिमा सक्रिय चासो लिँदै आएको चीनका नेपालस्थित राजदूत हाउ याङछीले नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटघाट गरेकी छन् ।
शुक्रबार बिहान करिब एक घण्टालामो भेटघाटमा नेकपाभित्र गहिरिँदै गाएको अन्तरसंघर्ष र सरकारको निरन्तरताबारे छलफल भएको प्रचण्ड निकट स्रोतले बताएको छ । भेटमा नेपालमा बढ्दै गएको कोरोना संक्रमण र नियन्त्रणका लागि चिनियाँ सहयोगका विषयमा पनि छलफल भएको बुझिएको छ । प्रचण्डसँगको भेटलगत्तै चिनियाँ राजदुत अर्का वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवास पुगेकी थिइन् ।
यस अगाडि राजदूत याङछीले बिहीबार राति प्रधानमन्त्री केपी ओलीसँग पनि भेटघाट गरेकी थिइन् ।
करिव एकसाता पहिले चिनियाँ राष्ट्रपति सि जिनपिङले टेलिफोनमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसँग वार्ता गरी ओलीको सुस्वास्थ्य र खुशीका लागि दिएको शुभकामनालाई ओलीपक्षले वर्तमान राजनीतिक संकटमा चीन सरकारको ओलीलाई समर्थन रहेको बताउँदै आएको छ ।
राष्ट्रपति सीको भण्डारीसँग फोन वार्तापछि राजदूत याङछीले भण्डारीसँग एक्लै भेट गरेकी थिइन् । जसबारे राष्ट्रपति कार्यालयले कुनै सार्वजनिक जानकारी दिएको छैन ।
चिनियाँ राजदुतको पछिल्लो राजनैतिक भेटघाटलाई लिएर सत्तारुढ नेकपामा संकट गहिरिदै गएको राजनैतिक विश्लेषण गर्न थालिएको छ ।