आधुनिक नेपाली राजनीतिक इतिहासका एक महान हस्ती शोषित पीडत जनताका इतिहासकार, बिचारक, सिद्धान्तकार, योजनाकार र कार्यनीतिका प्रबक्ता कामरेड पुष्पलाल जो महान अमर शहीद गंंगालालका सहोदर भाइ पनि हुन्, अत्यन्तै उच्च बिचार र सादा जीवनका प्रतिमूर्ति थिए । उनको सबैभन्दा महत्वपूर्ण पक्ष नेपाली समाजको बैज्ञानिक दृष्टिकोणका आधारमा अध्ययन तथा बर्गीय शोषण र सामाजिक उत्पीडनबाट नेपाली समाजको मुक्ति नै थियो । पार्टी प्रशिक्षण दिदा उनले सदैब ‘जसले आफ्नो देशको इतिहास, सस्ँकृति, भूगोल र समाजका बारेमा यथेष्ठ अध्ययन गर्दैन त्यसले नेपाली समाजको आमूल र अग्रगामी परिवर्तका लागि कुनै सार्थक योगदान दिन सक्तैन’ भन्ने कुरा एकदमै प्रष्टसँग औल्याउँदथे र सबै परिवर्तनकामीहरुलाई कम्तिमा पनि नेपाल र बिश्वको इतिहास पढ्न सदैब प्रेरित र प्रोत्साहित गर्दथे । खासगरी पुष्पलालले अमेरिकी स्वतन्त्रता संग्रामको इतिहास, फान्सेली क्रान्ति, बेलायतको औद्योगिक क्रान्ति, महान अक्टोबर समाजवादी क्रान्ति, भारतीय स्वतन्त्रता संग्राम र चीनीया नयाँजनबादी क्रान्ति तथा बिश्वका चलिरहेका साम्राज्यावाद तथा उपनिवेशबाद बिरोधी आन्दोलनहरुको ज्ञान परिवर्तनकामी शक्तिहरुमा हुनै पर्दछ भन्ने कुरामा बिशेष जोड दिन्थे ।
आफु पनि नेपाल र बिश्व समाजको गम्भीर र गहन अध्ययन गर्ने र अरुलाई पनि त्यसो गर्न झकझक्याइरहने क. पुष्पालालमा कुनै दम्भ र तुजुकको गन्धसम्म पनि थिएन । तर जनतामाथि शोषण र अन्याय गर्ने शक्तिका बिरुद्ध निरन्तर संघर्षशील र कहिले नझुक्ने दृढता, परिवर्तनप्रतिको अखण्ड संकल्प, उच्च साहसले उनी ओतप्रोत थिए । उनको यो ब्यक्तित्वले गर्दा उनलाई भेट्ने नेता, कार्यकर्ता पुष्पलालप्रति सम्मान र आदरको दृष्टिले हेर्दथे र प्रभावित हुन्थे ।
कमरेड पुष्पलालको जन्म १५ असार १९८१ सालमा त्यतिबेलाको पूर्व २ नम्बर रामेछाप जिल्लामा भएको थियो । उनकी माताको नाम तुलसी कुमारी र पिताको नाम भक्तलाल थियो । उनी माता पिताका माहिला छोरा थिए । उनका जेठा दाजु अमर शहीद गंगालाल र अरु तीन भाइहरु गौरीलाल, देबीलाल र बिजयलाल हुन भने उनकी एक मात्र बहिनी पुष्पलता हुन् ।
पिता भक्तलालले पनि २००९ सालमा गठित अखिल नेपाल न्यून बैतनिक कर्मचारीहरुको हडतालको क्रममा एक्शन कमिटीको अध्यक्ष भएर आन्दोलन चलाएका थिए । दाजु गंगालालले त १९९७ सालमै क्रुर राणाशाहीको सत्ताले हत्या गरेको थियो र उनले उच्च शहादत प्राप्त गरेका थिए । उनलाई आफुलाई राणाहरुले मार्दैछन् भन्ने कुरा थाहा थियो । त्यसबेला उनलाई गोली हान्न शोभा भगवती लानु एक दिन अगाडि कमरेड पुष्पलाल दाजुलाई भद्रगोल जेलमा सपरिवार भेट्न गएका थिए । त्यतिबेला गंगालालले पुष्पलाललाई सम्झाउदै र उत्प्रेरित गर्दै भनेका थिए : ‘हेर माहिला यो मैले प्रजातन्त्रको निमित्त बालेको दियोलाई तैंले प्रज्वलित गर्नेछस्, निभ्न दिने छैनस्’ । आफ्ना दाजुको यी उच्च राजनीतिक दृढताका शब्दहरु नै कमरेड पुष्पलालका निमित्त राजनीतिमा प्रवेश गर्ने प्रेरणा पुञ्ज बने र पुष्पलालले त्यसै दिन दृढ अठोट गरे एकतन्त्री निरंकुश राणाशाही लगायत सम्पूर्ण तानाशाहीका बिरुद्ध आजीवन लड्ने !
१९९८ सालमा पुष्पलाल प्रेमबहादुर कंसारका, शम्भूराम श्रेष्ठ, सूर्य भारद्वाज र राजारामहरुसँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गर्न पुगे । त्यस संघमा रहेका सदस्यहरुले आ-आफ्नो रगतले प्रतिबद्धतापत्रमा सही गरेर लाग्नु पर्ने नियम थियो । संघले राणाशाहीको बिरोध गर्ने, बिद्यालयहरु खोली बिभिन्न खालका सीपमूलक तालिमहरु दिने गर्न थाल्यो । भारत प्रबासमा रहेका नेपालीहरुका बीच पनि राणाशाही बिरुद्ध कृयाकलाप बढाउन पुष्पलालले १९९७ सालदेखि नै बन्दी जीवन बिताइरहेका नेपाल प्रजापरिषदका नेताहरुसँग पनि गोप्यरुपले सम्पर्क राखेर टंकप्रसाद आचार्य लगायतका अरु नेताहरुसहितको फोटो सन् १९४२ मा भारत पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा प्रकाशित गर्न पनि मद्दत गरे । २००४ सालमा नेपाली राष्ट्रिय काग्रेसले नागरिक अधिकारका लागि आन्दोलन गर्दा त्यसको नेतृत्व पुष्पलाल, शम्भूराम, स्नेहलता,साहना प्रधान आदिले गरेका थिए । जनताद्वारा गरिएको यही पहिलो राजनीतिक जन आन्दोलनका कारण तत्कालीन राणा प्रधानमन्त्री पद्म समशेर राजनीतिक सुरधारका बिभिन्न कदमहरु चाल्ने घोषणा गर्न बाध्य भएका थिए ।
त्यसपछि नेपाली काग्रेसका नेताहरु परस्पर झगडामा लाग्ने र सामन्त बर्गसँग सम्झौता गरेर शासन सत्ता हत्याउनमा मात्र सीमित रहने स्थिति बोध गरेर पुष्पलालले मार्क्सवादको अध्ययन गर्दै नेपाली जनताले अब छुट्टै बाटो अर्थात् नयाँ जनवाद, बैज्ञानिक समाजवाद र साम्यवादको बाटो लिनुपर्ने निष्कर्शमा पुगी नेपाली राष्ट्रिय काग्रेसको केन्द्रिय कार्यालय सचिवबाट राजीनामा गरेर कम्युनिष्ट पार्टी गठन गर्ने बाटोमा अग्रसर भएका थिए । उनले त्यसै क्रममा २००५ सालमा बिश्व प्रसिद्ध कम्युनिष्ट घोषणापत्रको नेपालीमा अनुबाद गरे । यही नै नेपालमा पहिलो महत्वपूर्ण कम्युनिष्ट दस्तावेज र साहित्य पनि हुनपुग्यो । त्यसको भूमिकामा उनले नेपाली समाजको जुन बर्ग बिश्लेषण गरेका छन् त्यसले गर्दा पनि त्यो दस्तावेज अझ महत्वपूर्ण ठहरिन गयो । यसरी कम्युनिष्ट पार्टी गठनको गृह कार्य गर्दै गएर पुष्पलालसहीत पाँच जना मिलेर नेपालमा कम्युनिष्ट पार्टी थापना गर्न अपिल गर्दै २००६ साल बैशाख १२ मा एउटा अपिल पत्र जारी गरे । त्यस अपिलको धेयलाई कार्यरुपमा परिणत गर्न नेपाल कम्युनिष्ट पार्टीकाे घोषणापत्र, बिधान र केन्द्रिय संगठन समितिको निर्माणकासाथ बिधिवत १५ सेप्टेम्बर १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टी स्थापना गरियो । पछि २००८ सालकाे पार्टीकाे प्रथम राष्ट्रिय सम्मेलने त्यसकाे अनुमाेदन गर्दै आधिकारिकरूपमा नेपाल कम्युनिष्ट पार्टीकाे स्थापना दिवस १५ सेप्टेम्बर र कार्यक्रम नयाँ जनबाद भन्ने कुरा अझ स्पष्ट पारेकाे थियाे । याे बस्तुगत यथार्थ लत्याएर पार्टी तीन दशक बितिसकेपिछ स्थापनाकाे बखेडा झिकेर अनावश्यक भ्रम सिर्जना गर्नु स्वयंमा सन्दिग्ध र अचम्भलाग्दाे कुरा छ ।
पार्टी स्थापना भएपछि कम्युनिष्ट पार्टी राणशाहीका बिरुद्ध संघर्षमा होमियो । संघर्षको क्रममा अनुभवहरु सँगाल्दै पार्टीले मजदुर, किसान, महिला, यूवा-बिद्यार्थी जस्ता जन बर्गीय संगठन निर्माण गरेर सामन्तबाद साम्राज्यवाद बिरोधी संघर्षलाई ब्यापक तुल्याउने र मूख्य गरेर किसान आन्दोलन उठाउने दिशा पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टी लियो । सामन्तबादसँग साँठगाँठ गर्ने र राणाशाही बिरोधी आन्दोलन सम्पूर्ण सामन्तबादकै उच्छेद गर्ने किसिमले फैलिन थालेपछि भारतको दिल्लीमा नेहरुको मध्यस्थतामा राणा, राजा र काग्रेसले क्रान्तिलाई अपूरो र अधुरो छोड्ने कुरामा सहमति गरी सम्झौता गरियो । त्यसको बिरुद्ध लाग्दा २००८ सालमा मातृका प्रसाद काेइराला नेतृत्वकाके सरकाकरद्वारा कम्युनिष्ट पार्टी माथि नै प्रतिबन्ध लगाइयो । त्यसपछि पार्टीलाई किसान आन्दोलनमार्फ सुरक्षित र सकृय राख्दै देशमा खाशगरी काठमाण्डौ उपत्यका, बारा, पर्सा, रौतहट, सप्तरी, सिरहा,झापा र पश्चिममा पाल्पा रुपन्देही (त्यत्तिबेला पाल्ही माझखण्ड भनिन्थ्यो) र सुदुर पश्चिममा समेत भीमदत्त पन्तको अगुवाईमा किसान आन्दोलन नेकपाको नेतृत्वमा चल्यो ।
यसै क्रममा कमरेड पुष्पलाल अन्तर्राष्टिय कम्युनिष्ट सम्मेलनमा भागलिन २०१६ सालमा सोभियत रुसमा पनि गएका थिए । उनले खु्रश्चेभको नीतिको बिरुद्ध स्तालिनको पक्षमा आफ्नो प्रष्ट अडान राखेका थिए । त्यही साल उनी मनमोहन अधिकारी, शम्भूराम श्रेष्ठ लगायतको टोलीसँग चीन भ्रमणमा पनि गए र त्यहाँ चीनीयाँ कम्युनिष्ट पार्टीका नेतृत्वसँग बिचारको आदानप्रदान भयो ।
२०१७ सालमा राजा महेन्द्रले सैनिक कु गरेर सीमित प्रजातन्त्रलाई पनि समाप्त पारे पछि त्यस्तो कुनै प्रतिगामी कदम राजाले उठाउन सक्ने र सचेत हुनुपर्ने कुरा बारम्बार उठाउदै आएका कमरेड पुष्पलालले आपसी सैद्धान्तिक मतभेदका बाबजुद राजाको प्रतिगामी कदमका बिरुद्ध काग्रेस र कम्युनिष्ट एक भएर संघर्षको मैदानमा उत्रिनु पर्ने संयुक्त आन्दोलनको जोडदार आह्वान गरे । यद्यपि काग्रेसलाई त्यो कुरा मान्य भएन नै तर आफुलाई कम्युनिष्ट भन्नेहरूले पनि जनताका सबै लाेकतान्त्रिक र बामपन्थी शक्तिहरूलाई एजुट पार्ने र आन्दाेलनलाई सही दिशा र गति दिने क.पुष्पलालकाे समय सान्दर्भिक र सामयिक कार्यनीतिक साेचकाे घाेर बिराेध मात्र गरेनन् क.पुष्पलाललाई गध्दार, काग्रेसकाे पुच्छर भन्ने जस्ता अनेक गम्भीर फत्तुर लगाउने दुष्कार्य गरे । तर नेपालमा उठेका जन आन्दाेलनहरूले नै क. पुष्पलालमाथि लगाइएका ती अनर्गल आराेपहरू गलत थिए र हुन् भन्ने प्रमाणित गरिदिए र गरिरहेका छन् ।
कमरेड पुष्पलाल सिद्धान्तनिष्ठ, दूरदृष्टि एवं उच्च राजनैतिक नैतिकता भएका प्रभावशाली नेता र क्रान्तिकारी योद्धा भएकाले त्यस्ता आराेपहरूकाे खण्डन जनतालाई सचेत, संगठित र संघर्षशील तुल्याएर जनआन्दाेलन मार्फत नै हल गरेर जान सकिन्छ र जानु पर्दछ भन्ने कुरामा अथकरूपमा दत्तचित्त थिए । उनले जसका बिरुद्ध नेपाली जनतालड्नु पर्ने हो त्यस शक्तिसँग कस्तै कठिन परिस्थितिमा पनि कुनै प्रकारको सम्झौता कदापि गरेनन् । संयुक्त जन आन्दोलनका प्रतिपादक, नयाँ जनवादी कार्यक्रमका प्रस्ताेता एबं नेपालका प्रबक्ता र प्रयोक्ता पुष्पलालको २०३५ साल साउन ७ गते दिल्लीको बल्लभ भाइ पन्त अस्पतालमा असामयिक निधन भयो । नेपालको कम्युनिष्ट आन्दोलनलाई अपुरणीय क्षति भयो । आज पुष्पलाललाई भजाउने कम्युनिष्टहरु त धेरै छन् । तर उनको बाटोमा अग्रसर हुँदै आएकाहरु र उहाँकाे सम्पूर्ण राजनीतिक जीवन यात्राकाे यथार्थ वास्तबिकता बुझ्दै गएकाहरू किनारामा परेका छन् । वास्तवमा कमरेड पुष्पलालकाे क्रान्तिकारी मूलबाटाे छाेड्नु नै नेपालमा कम्युनिष्ट आन्दाेलनमा सैध्दान्तिक बिचलन आउनु र याे आन्दाेलन कमजाेर पर्नुकाे मूल कारण हाे भन्ने प्रष्ट हुन्छ । अन्तर्राष्ट्रय सहायक कारणहरू पनि जीवन्त छँदै थिए र अद्यापि छँदैछन् ।