मेरी बुहारी सविना अमेरिकाको भर्जिनियामा छिन् आजकल । उनले रातो साडी र ब्लाउजमा सजिएकी एक महिलासँगै खिचेको फोटो फेसबुकको स्टोरीमा राखेकी रहिछन् । हेरेँ शान्ता चौधरीजस्तै लाग्यो, तै पनि विश्वस्त बन्न सकिन र सविनालाई सोधें । उनले “अमेरिकाबाट नेपाल फर्कने तयारीमा रहेकी शान्ता चौधरी” भनेर बताइन् ।झट्ट सम्झेँ, शान्ता मेरो फेसबुक साथी थिइन् ।
अनि ‘साथी कायम छन् कि छैनन्’ भन्ने जिज्ञासा बढेकाले आफ्ना फेसबुके साथीको लिष्टमा उनलाई खोजेँ, तर उनी भेटिइनन् । अनुमान गरेँ सायद उनले मलाई अनफ्रेन्ड गरेको हुन सक्छ । त्यसपछि मन अलि खिन्न भयो र यो लेख्न थाले । सायद उनको पहिलो कृति ‘कम्लरीदेखि सभासदसम्म’ प्रकाशित भएपछि नै हुन सक्छ । रिक्वेस्ट उनले गरिन वा मैले जेहोस हामी फेसबुक साथी बनेका थियौंं । ‘कम्लरीदेखि सभासदसम्म’ पढेपछि मैले उनलाई सगौरव बधाई मात्र दिइन, शोषण, उत्पीडन र विभेदको मार खपिरहेका जनसमुदायको मुक्ति र अधिकारका निम्ति जीवनका पाइलाहरुलाई निरंतर अग्रगति दिन प्रोत्साहनयुक्त सुझाव पनि दिएँ ।

उनले पनि मप्रति आदरभाव देखाउदै आफूलाई मार्गदर्शन गर्न सविनय आग्रह गरेकी थिइन् । यस क्रममा मैले उनलाई मेक्सिम गोर्कीको ‘मेरो विश्वविद्यालय’ ‘आमा’ लगायत अन्य प्रेरणादायी साहित्यहरु अध्ययन गर्न सुझाव पनि दिएको थिएँ । शान्ताका फेसबुके स्टाटसहरु बाक्लै आउथे । तर पछि आउन छाडे । मलाई ख्याल छैन मेरो पेजमा उनका स्टाटसहरु कहिलेसम्म आए । बालबधुवाश्रमिक (कम्लरी) बाट एक विशिष्ठ राजनीतज्ञमा फड्को मार्न सफल शान्ता चौधरी नेपालका तमाम श्रमजीवीहरुका निम्ति अझ श्रमजीवी महिलाहरुका निम्ति एक आदर्श .नै थिइन् । त्यसैले मैले कतिपय श्रमिकहरुसँग कुराकानी गर्दा शान्तालाई एक अनुकरणीय उदाहरणका रुपमा प्रस्तुत गर्ने पनि गर्थें । समय अगाडि बढ्दै गयो । शान्ताका प्रगतिका पाइलाहरु द्रूतगतिमा अगाडि बढ्दै उच्च शिखरमा टेकिन पुगे । एउटा चमत्कारिक कहानी जस्तै बनेको थियो, शान्ताको प्रगति ।तर उनले आफ्नो धरातललाई बिर्सिदै गएको कुरा जानकारी पाउनथालें । पाएको जानकारीअनुसार अव उनले विगतको आफूजस्तै दासत्वजन्य अवस्थामा रहेका श्रमिकहरुको पीडालाई बेवास्ता गर्न थालेकि थिइन् ।

अव उनी शोषण उत्पीडन भोगिरहेका श्रमिकहरुको अधिकार र मुक्तिका लागि लड्ने श्रमिक नेता हैन, अन्य निहित स्वार्थी नेताहरूजस्तै बन्न पुगिन् । यतिबेला शान्ता नेकपा (एमाले) को पोलिटव्यूरो सदस्य र यसै पार्टीको संघीय संसदीय दलकी सचेतक समेत रहेकि छन् । तर उनको यस्तो उच्च प्रगति मुक्त कम्लरीहरु, ओर्गान, बुक्रही,मुक्त कमैयाहरुलगायत तमाम श्रमजीवी जनताका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भन्दा बढि बन्न नसकेको जानकारी पाइरहेको छु । त्यसैले मनमा लाग्न थालेको छ कर्ही शान्ता चौधरीले आफ्नो वर्गीय धरातल विर्सन पुगेकी त हैनन् ? विगतमा आफुलेजस्तै शोषण उत्पीडन र दासत्वजन्य अवस्था भोगिरहेका श्रमिकहरुको अधिकार र मुक्तिका मुद्दाहरुलाई बेवास्ता गर्न थालेकी त हैनन् ? सामाजिक सञ्जालबाट
-(लेखक बन बामपन्थी विश्लेषक हुनुहुन्छ ।)
१४ असार २०७९