केन्द्रीय कमिटीको बैठक चल्दै गर्दा नेकपा (एकीकृत समाजवादी) का केही मन्त्री जिल्लाबाहिर पुगेका छन् भने केही पद जोगाउन दौडधुपमा लागेका छन्।
मन्त्रिमण्डल हेरफेरको विषय पेचिलो भइरहेको बेला आयोजित केन्द्रीय कमिटीको बैठकमा सहभागी नभइ पर्यटनमन्त्री प्रेम आले धनगढी हुँदै डोटी पुगे भने बाँकी मन्त्री दिनभर पद बचाउने प्रयासमा लागे।
स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ भने बबरमहलस्थित एक व्याङ्क्वेटमा आयोजित केन्द्रीय कमिटी बैठकमा उपस्थित थिए। उनलाई स्वास्थ्य राज्यमन्त्रीबाट स्वास्थ्यमन्त्री बनाउन पार्टीले सिफारिस गरेको छ। चारै जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउन लागेपछि केही दिनदेखि नेकपा एस तरंगित छ।
आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको बैठकमा उपस्थित नभइ सामाजिक सञ्जाल र बाहिर हल्ला गर्दै नहिँड्न चेतावनीसमेत दिएका थिए।
मन्त्री हेरफेरको लागि नेतृत्वले गरेको सिफारिसमा असन्तुष्टि जनाएर आठ बुँदे मागसहित हस्ताक्षर गरेर पार्टीलाई बुझाएका मन्त्रीसहित १० नेतामध्ये पर्यटनमन्त्री प्रेमसहित ६ जनाले हस्ताक्षर फिर्ता लिएका छन् भने बाँकीले पद जोगाउन दिनभर कसरत गरेका गरे।
पर्यटनमन्त्री प्रेम आलेसहितका ६ जनाले हस्ताक्षर फिर्ता लिएका हुन् भने स्वास्थ्यमन्त्री खतिवडा, शहरी विकासमन्त्री झाँक्री र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री श्रेष्ठ तथा सांसद निरा जैरु हस्ताक्षरको निर्णयबाट पछि हटेका छैनन्।
उनीहरुले हस्ताक्षर फिर्ता नलिएको भन्दै पुरानै मागमा अडान दोहोर्याउँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन बालुवाटार पुगेका थिए भने सत्ता गठबन्धनका शीर्ष नेतालाई पनि भेटेका थिए।
यता एकीकृत समाजवादीको आज बसेको केन्द्रीय कमिटी बैठकले भने मन्त्रिमण्डल फेरबदलको लागि पार्टीबाट सिफारिस गरिएको नाम नै अन्तिम भएको जनाएको छ। छिट्टै मन्त्री हेरफेर भएर नयाँ मन्त्रीले सोमबारसम्ममा शपथ लिने एकीकृत समाजवादीले जनाएको छ।











