राष्ट्रपति विद्यादेवी भण्डारीले कमला नदीलाई ५ वर्ष भित्रमा नमुना नदी प्रणालीको रूपमा व्यवस्थापन गर्नु पर्ने बताउनु भएको छ । बिहीबार राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, श्री १ वन तथा पर्यावरण सुरक्षा गण नेपाली सेना रानीबासको संयुक्त आयोजनामा दुधौली नगरपालिका ३ झुँगामा आयोजित वृक्षारोपण कार्यक्रममा उहाँले कमला नदीलाई नमुना नदी प्रणालीको रूपमा व्यवस्थापन गर्नु पर्ने बताउनु भएको हो ।
कमला नदी प्रणालीलाई आगामी ५ वर्ष भित्रमा नमुना नदी प्रणालीको रूपमा व्यवस्थापन गर्ने गरि गुरुयोजनामा समेट्न राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र नेपाली सेनाको वन तथा पर्यावरण महानिर्देशनालयलाई ध्यानाकर्षण गराउनुभयो ।
विशाल सामुदायिक वन क्षेत्रमा बर र पिपलका बिरुवा रोपेर राष्ट्रपति भण्डारीले आठौँ चुरे दिवस २०७९ को शुभारम्भ गर्नु भएको थियो । सो समारोहमा सम्बोधनका क्रममा उहाँले चुरे संरक्षणले स्थानीय समुदायको जीविकोपार्जनका अवसरहरू सिर्जन गर्ने बताउनुभयो ।
चुरे क्षेत्रमा रहेका स्थानीय तहमा भर्खरै निर्वाचित जनप्रतिनिधिलाई भावी पुस्ताको बाँच्न पाउने अधिकार समेतलाई ख्याल गरेर व्यवस्थित भौतिक विकास गर्न र वातावरणीय अध्ययन गरेर मात्र ढुङ्गा, गिट्टी, बालुवा जस्ता प्राकृतिक स्रोतको सङ्कलन र उत्खनन गर्न उहाँले आह्वान गर्नुभयो ।
बृक्षारोपाण गरेर मात्र नभएर रोपेका बिरुवाको स्याहार र संरक्षण गर्न उत्तिकै महत्त्वपूर्ण रहेको रहेको बताउँदै बिरुवा हुर्केर उत्पादन भएका बस्तु, सेवाहरूबाट स्थानीय समुदायले लाभ प्राप्त नगरेसम्म निरन्तर संरक्षण गर्नु पर्नेमा जोड दिनुभयो । यसका लागि राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति, नेपाली सेना, दुधौली नगरपालिका, विशाल सामुदायिक वन उपभोक्ता समिति सवैको ध्यानाकर्षण गराउनुभयो ।
तराई र मधेसका जनतालाई प्राकृतिक विपद बाट बचाउन चुरे क्षेत्रमा रहेका बन वनस्पति वन्यजन्तु र पारिस्थीतिकीय प्रणालीलाई उनीहरूलाई प्राकृतिक प्रक्रिया अनुसार स्वच्छ र स्वतन्त्र रूपमा बाँच्न दिनु पर्ने बताउनुभयो ।
वृक्षारोपण कार्यक्रमबाट वन क्षेत्रको क्षेत्रफल बृद्धि, जैविक विविधताको संरक्षण, कार्बन संचिती, भूसंरक्षण एवं पानीको स्रोत बृद्धि गर्न र स्थानीय समुदायको जीविकोपार्जनका अवसरहरू सिर्जना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बृक्षरोपाण कार्यक्रममा बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डे, वन तथा वातावरण मन्त्री रामसाय प्रसाद यादव, प्रतिनिधि सभा सदस्य गणेश पहाडी, दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।










