गृहमन्त्री बालकृष्ण खाण सुशासन कायम गराउन भन्दा अपराधीलाई जोगाउने काममा लागिपरेको तथ्य बाहिर आएको छ । तीन साताअघि काठमाडौंबाट अबैध धन्दाको प्रमाणसहित पक्राउ परेका दुई जना हुण्डी कारोवारीलाई ठाडो निर्देशन दिएर प्रहरीलाई छाडन बाध्य बनाएपछि गृहमन्त्रीको अपराधीसँगको ‘नेक्सस’ बाहिर आएको हो ।
गृहमन्त्री खाणको निर्देशनमा उपत्यका अपराध अनुसन्धान कार्यालय हुन्डी, सुन तस्करी तथा अवैध बेटिङको कारोबार गरेको तथ्य फेलापरेपछि महाबौद्धबाट प्रवीण अग्रवाल र सुनिल भद्रपुरियालाई पक्राउ गरेको दुई घण्टामै बिना अनुसन्धान छाडन बाध्य भएको हो ।कार्यालयका एक अधिकृतले दिएको जानकारीअनुसार गृहमन्त्री खाणले बिनाअनुसन्धान नछाडे क्यारियर नै बर्वाद बनाइ दिने धम्की दिएपछि प्रहरी बरिष्ठ अधिकारीहरुले दुवै जनालाई पक्राउ गरेको केही समयमै छाडन बाध्य हुनुपरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत जेठ १२ गते अवैध कारोबारमा संलग्न गिरोहका दुई नाइके अग्रवाल र भद्रपुरियालाई स्रोत नखुलेको पैसा र बेटिङ कारोबारसम्बन्धि प्रमाणसहित पक्राउ गरेको थियो । उनीहरुलाई लामो अनुसन्धानपछि प्रमाणसहित अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरकै बिशेष योजनामा पक्राउ गरिएको थियो । कार्यालय प्रमुखकै योजनामा प्रमाणसहित समातिए पनि गृहमन्त्रीको आदेशमा छाडन बाध्य भएको ती अधिकृतले बताए ।
पक्राउ परेका अग्रवाल र भद्रपुरियाले हालै सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) मा मात्र करोडौंको बुकी खेलाएको प्रहरी अनुसन्धानमा खुलेको थियो । पक्राउ परेका भद्रपुरिया भारतीय नागरिक हुन । महाबौद्धमा इलोक्ट्रोनिक सामानको व्यापारको आवरणमा भद्रपुरिया अवैध धन्दामा सक्रिय रहेको प्रहरीको दावी छ ।
यस्तै पक्राउ परेका अर्का ब्यापारी अग्रवाल इन्द्रचोकस्थित बाजीगर स्टोरका मालिक हुनुहुन्छ । कपडा कारोबारी अग्रवालको होलसेल पसलमा राजस्व अनुसन्धान विभागले गत मंसिरमा छापा मारेको थियो । यी अभियुक्तलाई छाडदा एसएसपी कुँवरले समेत राम्रै हिसाव किताव मिलान गरेको आरोप लागेको छ । यो समाचार जनता टाइम्सले प्रमुखताका साथ छापेको छ ।











