गठबन्धनलाई भरतपुरबाटै एमालेका अध्यक्ष ओलीको जवाफ : प्रचण्डकी छोरी हार्दा देश दुर्घटना हुँदैन, बरु एउटा घटना हुन्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा जसरी पनि छोरी जिताउने प्रचण्डको सपना तुहिने घोषणा गर्नुभएको छ । चुनावमा धाँधली गरेर भए पनि छोरी जिताउने प्रयाशलाई जनमतको आधारमा पराजीत गर्ने उदघोष एमाले अध्यक्ष ओलीले गर्नुभएको हो ।

प्रचण्डले केही दिनअघि भरतपुरमा गठबन्धनले आयोजना गरेको सभामा बोल्दै छोरी रेनु दाहाललाई नजिताए देश दुर्घटनामा पर्छ भन्ने अभिब्यक्ति दिनुभएको थियो । प्रचण्डको सो भनाई कांग्रेसका कार्यकर्तालाई धम्क्याएको टिप्पणी गर्दै ओलीले छोरीलाई बैशाख ३० गते जनताले बिदा गर्ने बताउनु भयो । एमाले अध्यक्ष ओलीले भरतपुरबाटै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवालाई आज जवाफ फर्काउनु भएको हो ।

कसैको धम्कीले जनता तर्सनेवाला छैनन, अव सवै तहको चुनावमा एमालेले जित्छ, सवैतिर सरकार बनाउँछ, भरतपुरमा पनि त्यही हो, सूर्यध्वजाबहाक बिजय सुवेदीले जिते–जिते,’ भरतपुरको आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो । उहाँले बैशाख ३० कै दिनबाट जनताले परमादेशलाई जनादेशबाट परास्त गरेको प्रष्ट सन्देश दिनुपर्ने र त्यसका लागि सूर्यमा मतदान गर्नुपर्ने बताउनु भयो । ‘भरतपुर त एमालेले जित्यो–जित्यो, गठबन्धन त हार्यो हार्यो,’ ओलीले भन्नुभयो, ‘अव भरतपुर त अव बन्यो–बन्यो ।’

अध्यक्ष ओलीले छोरी जिताउन अनेक षडयन्त्र र धाँधलीका प्रयाश हुनसक्ने भन्दै प्रतिरोधको आवश्यक तयारी गर्न पनि पार्टी नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘धाँधली हुनसक्छन, अनेकन षडयन्त्र हुनसक्छन, त्यसलाई तह लगाउन सवैखाले आवश्यक तयारी गर्नाेस,’ ओलीले भन्नुभयो । सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो प्रधानमन्त्री पदसँग कांग्रेसलाई नै सौदा गरेको बताउनु भयो । आफू प्रधानमन्त्री बन्नका लागि देउवाले कांग्रेस सिद्ध्याउन लाग्दा पनि कार्यकर्ताले पीर बिसाउने ठाउँ नभएको भनाई पनि उहाँको थियो ।

‘चितवनका कांग्रेस कार्यकर्ताप्रति मेरो सहानुभूति छ, उहाँहरूको कुनै दोष छैन । प्रकाश सपुतले गीतमा भनेजस्तै उहाँहरूले पीर बिसाउने ठाउँ पनि पाउनुभएन । मेरी छोरीलाई भोट दिएनौ भने देश दुर्घटना हुन्छ भनेर प्रचण्डले धम्क्याउँदा पनि नेतृत्वबाट ढाडस पाएका छैनन,’ ओलीले भन्नुभयो, ‘तर ढुक्क हुनोस, प्रचण्डकी छोरी हार्दा देश दुर्घटना हुँदैन बरु एउटा घटना हुन्छ, त्यो के हो भने गठबन्धनले नराम्रोसँग हार्छ, देश बन्छ ।

चितवनका कांग्रेस कार्यकर्ताहरू प्रचण्डका बाबु छोरी बोक्न विवश भएको भन्दै एमाले अध्यक्ष ओलीले भोलि प्रचण्डका भाइ, भतिजा र बुहारीहरू पनि बोक्नुपर्ने अवस्था आउने तथ्य औल्याउनु भयो । आफ्नी छोरीलाई जिताए २० वर्ष यही गठबन्धन राखेर कांग्रेस कार्यकर्तालाई हँसिया हतौडामा भोट हाल्न लगाउने घोषणा प्रचण्डले गरिसकेकोले पनि सही उहाँले बताउनु भयो ।