बैशाख ३० गते हुन गैरहेको चुनावमा पाँच दलीय गठवन्धनविरुद्ध लडिरहेको नेकपा एमालेका उमेद्वारहरु सफल हुने प्रमुख आधार भनेको बढिभन्दा बढि मानिस, घर र टोलमा पुग्नु नै हो । मुद्धा एमालेसँग कमी छैन, त्यसैले एमालेका उमेद्वारहरुसँग पनि कमी हुने कुरा भएन । पार्टी अध्यक्ष केपी ओली नेतृत्वको साढे तीन वर्ष बढि चलेको सरकारले गरेका ठूला ठूला भौतिक संरचनाका निर्माण, बृद्धभत्ता जस्ता सामाजिक सुरक्षा क्षेत्रमा गरेका काम, लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिएको चुच्चे नक्सा प्रकाशन, भारतीय नाकाबन्दीको डटेर सामना, चीनसँग गरिएको पारावहन लगायतका सन्धी आगामी निर्वाचनका लागि एमालेले जनतासँग राख्न सक्ने महत्वपूर्ण मुद्धाहरु हुन् । ती कामहरु भावनात्मक मात्र होइन, त्यसका भौतिक प्रभावसमेत हामीले हाम्रा छेउछाउमै देख्न र देखाउन सक्छौं ।
एमालेविरुद्ध लड्न सत्तारुढ पाँच दलहरु गठवन्धन बनाउन वाध्य हुनु पनि एमालेको पक्षमै चुनावी मुद्धा आईलाग्नु हो । प्रतिपक्षमा रहेको दलविरुद्ध सत्तारुढ पाँच दल गठवन्धन गर्न वाध्य हुनुले उनीहरु मनोबैज्ञानिकरुपले पहिले नै पराजित भइसकेको सन्देश गएको छ भने एमाले पंक्तिमा आफू बलियो रहेको विश्वास निर्माण भएको छ । चुनावी लडाईमा कमजोर मनोविज्ञान बन्नु चुनावपूर्व नै आधा हार हो भने बलियो मनोविज्ञान बन्नु चुनावपूर्व आधा जीत हो । अहिले देशब्यापी एमालेको पक्षमा माहोल निर्माण हुनुको महत्व कारण यही नै हो
तर, यो माहोललाई पुँजीकृत गर्न मानिस, घर र टोलमा उमेद्वार र कार्यकर्ता पुग्न सकेनन् भने सकिदैन । चुनावमा मुद्धा प्रमुख हो, तर मुद्धाभन्दा महत्वपूर्ण त्यसलाई मानिसबीच पुरयाउनु हो । किनभने मुद्धालाई मानिसबीच लैजान सक्दा मात्र त्यो जिउँदो हुन्छ । मुद्धालाई मानिसबीच लैजान उमेद्वारसँगै सक्रिय र जनताबीच स्थापित कार्यकर्ताको पंक्ति चाहिन्छ । त्यो क्षेत्रमा पनि एमाले अरु दलहरुभन्दा धेरै बलियो छ । यो विषय एमाले कार्यकर्ताले त महशुस गरेकै छन्, बिपक्षीले पनि स्विकारेका छन् ।
यी सबै भएर पनि प्रचार अभियान योजनाबद्ध हुनु अनिवार्य छ । प्रचार अभियान योजनावद्ध हुनु भनेको विपक्षको शक्ति, उनीहरुले उठाएका मुद्धा, उनीहरुको कमजोर पक्ष पत्ता लगाएर त्यसविरुद्ध आफ्नो शक्ति परिचालन गर्नु हो । एमालेका पक्षमा मुद्धाहरु पर्याप्त छन्, शक्ति पनि कमी छैन, कार्यकर्तामा आत्माविश्वास र जाँगर पनि पर्याप्त छ । तर, बिपक्षीको कमजोरीलाई पहिचान गरेर आफ्नो सम्पूर्ण शक्ति त्यो ठाउँमा प्रयोग गर्नसक्दा मात्र समग्ररुपमा चुनावमा एमाले माथि पर्न सक्छ ।
विपक्ष र आफ्नो पक्षको शक्ति आँकलन गर्नु, आफ्नो बलियो क्षेत्रलाई जोगाएर राख्नु तथा विपक्ष बलियो र आफू कमजोर रहेको क्षेत्रमा आफ्नो शक्ति विन्यास गर्नु चुनावमा विजय बन्ने अनिवार्य शर्त हो । आफ्नै सुरमा घरदैलो गर्दैमा चुनावी अभियान सफलतामा पुग्दैन, परिस्थितिको निरन्तर अनुगमन गर्दै कमजोरी सुधार्ने जाँगर चलाउन सकेमा मात्र चुनावलाई आफ्नो पक्षमा पार्न सकिन्छ ।
बुझ्नुपर्ने कुरा के हो भने, चुनाव भनेको एक प्रकारको युद्ध नै हो । जनताको मन जितेर मत लिने यो युद्ध अनेक क्षेत्रबाट लड्नुपर्ने हुन्छ । यो युद्धका लागि चाहिने शक्तिशाली हतियार अर्थात मुद्धाहरु हामीसँग पर्याप्त छन्, बिपक्षीभन्दा धेरै र अत्यन्त प्रभावकारी । हतियार चलाउने सिपाही पनि हामीसँग कमी छैनन् । नामले नै बिपक्षी कहालिने प्रधानसेनापति पार्टी अध्यक्ष केपी ओली हामीसँगै हुनुहुन्छ । यी सबैलाई उचित संयोजन गरेर परिचालन गर्न मात्र अहिले आवश्यक छ । त्यसका लागि सिर्जनात्मक बन्नु आवश्यक छ र अहिले हरेक उमेद्वार र कार्यकर्ताले त्यसतर्फ आफूलाई तयार पार्न जरुरी छ ।