कमलामाई २ का गठबन्धन तर्फका वडाध्यक्षका पदको उम्मेदवारी धरापमा !

सिन्धुलीको कमलामाई नगरपालिकामा गठबन्धन तर्फका उपमेयर दिर्घराज श्रेष्ठको उम्मेदवारी खारेज भएको घटना सेलाउन नपाउँदै फेरी एक अर्का वडाध्यक्षको उम्मेदवारी पनि जोखिममा परेको छ ।
कमलामाई नगरपालिका वडा नं. २ मा गठबन्धन तर्फ एमाओवादी केन्द्रका उम्मेदवार इन्द्र वाइवा विरुद्ध एमालेका वडाध्यक्षका उम्मेदवार चित्रवहादुर बुढाथोकीले ठेक्कापट्टामा संलग्न भएको र आफ्नै वडामा काम गरिरहेकाले उम्मेदवारी खारेजगरी पाउँभन्दै निर्वाचन कार्यालयमा उजुरी दर्ता गराएपछि उहाँको उम्मेदवारी जोखिममा परेको हो । निर्वाचन कार्यालयका अनुसार गठबन्धन तर्फका उम्मेदवार विरुद्ध परेको उजुरीका सम्बन्धमा सरोकारवाला निकायमा बुझ्ने काम गरेको र त्यहाँबाट प्राप्त जवाफका आधारमा थप निर्णयमा पुग्ने बताइएको छ ।
वाइवाले आफु उम्मेदवार भएकै वडामा निर्माण कार्यको जिम्मा लिएको र उहाँलेनैं नगरपालिकामा ठेक्का संझौता गर्नुभएको कागजात निर्वाचन कार्यालयमा पुगेको छ । निर्वाचन ऐनले आफ्नै वडामा ठेक्का पट्टामा संलग्न भएका व्यक्ति उम्मेदवार बन्न नसक्ने उल्लेख छ । निर्वाचन कार्यालयले वडाध्यक्षका उम्मेदवार वाइवाका सन्दर्भमा आज साँझसम्म ठोस निर्णय गर्ने बताइएको छ । स्थानीय माओवादी कार्यकर्ताको इच्छा र भावना बिपरित जिल्ला नेतृत्वले उहाँलाई उम्मेदवार बनाएको भन्दै माओवादीका अर्का स्थानीय नेताले स्वतन्त्र उम्मेदवारीसमेत दिएका थिए ।
उक्त वडा सिन्धुली जिल्लाकै नमुना वडाका रुपमा रहेको छ , जहाँ गठबन्धनरत दलका कांग्रेस, एमाओवादी र प्रतिपक्षी दलका असन्तुष्ट पक्षहरु मिलेर अहिले स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन ऐन अनुसार वाइवाको उम्मेदवारी खारेज भएमा एमालेका बुढाथोकी र स्वतन्त्र उम्मेदवारका बीचमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।