२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारको निर्वाचन प्रचार सामाग्री छपाई बापतको पैसा लिन गएका पुष्पदिप देवकोटाको मृत्यु भएको छ ।
चर वर्ष अघि पुष्पदिप अफसेट प्रेसमा माओवादीका उम्मेदवारले निर्वाचन प्रचार सामाग्री छपाई गरेको रकम लिन बुधवार बिहान १० बजे पार्टी कार्यालयमा पुगेका देवकोटाको करिब दिउँसो १ बजे मृत्यु भएको हो । देवकोटाले लिनु पर्ने रकम कति थियो र मृत्यु के कारणले भयो भने खुल्न सकेको छैन ।
देवकोटा कमलामाई नगरपालिका ६ २ नं बजारमा रहेको पुष्पदिप अफसेट प्रेसका सञ्चालक हुन् । उहाँ पार्टी कार्यालय भित्र अनसन बसेको अवस्थामा ढलेको र अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताईएपनि घटनाको आधिकारीक रूपमा पुष्टि हुन बाँकी रहेको छ ।
पार्टी कार्यालयमा देवकोटाको मृत्यु पछि प्रहरीले सुरक्षा घेरा दिएको छ । घटनाको विषयमा अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो ।










