सिन्धुली जिल्लामा निर्वाचन केन्द्रीत अभियान सञ्चालन गरिसकेको नेकपा एमालेले आफ्नो तर्फबाट उमेद्वारहरुको टुङ्गो लगाएको छ । आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरुसँग प्रतिस्पर्धा गर्न कमलामाई र दुधौली नगरपालिका सहित ९ स्थानीय तह र ७९ वटै वडाका उमेद्वारको नाम टुङ्ग्याएको हो ।
जसअनुसार कमलामाई नगरपालिकाको मेयरमा लोकप्रिय युवा नेता महेन्द्रदेव श्रेष्ठ र उपमेयरमा मञ्जु देवकोटा उम्मेदवार बन्नुभएको छ । यस्तै दुधौली नगरपालिकाको मेयरमा पुराना कम्युनिष्ट नेता लक्ष्मण कार्की र उपमेयरमा बालकुमारी अधिकारी दनुवार बन्नुभएको छ ।
यसैगरी तिनपाटन गाउँपालिकाको अध्यक्षमा बौद्धिक व्यक्तित्व छत्र दाहाल, उपाध्यक्षमा पदममायाँ तामाङ चयन हुनुभएको छ भने फिक्कल गाउँपालिकाको अध्यक्षमा पार्वती सुनुवार र उपाध्यक्षमा राजु बराललाई चयन गरेको हो ।
त्यस्तै सुनकोसी गाउँपालिकाको अध्यक्षमा लोकप्रिय युवा नेता रोमनराज गिरी (अशोक) र उपाध्यक्षमा हेमा अधिकारी सर्वसम्मत उम्मेदवार बन्नुभएको एमाले उपाध्यक्ष कर्ण घिसिङले जानकारी दिनुभयो ।
यस अगाडि ४ वटा पालिकामा भने यसअघि नै सर्वसम्मत अध्यक्ष पदका उम्मेदवार चयन हुुनुभएको थियो । हरिहपुरगढी गाउँपालिकामा मानबहादुर वाइबा, मरिण गाउँपालिकामा गोविन्दलाल माझी, गोलन्जोर गाउँपालिकामा शंकर बराल र घ्याङ्लेख गाउँपालिकामा चतुरमान लो सर्वसम्मत उम्मेदवार चयन हुनुभएको थियो । यी चार पालिकामा भने उपाध्यक्षका उम्मेदवार छनोट भएपनि अन्य दलसँग चुनावी तालमेल हुनसक्ने भएकाले केही समय गोप्य राखिएको थियो । उपाध्यक्ष घिसिङका अनुसार भोली बिहानसम्म उपाध्यक्षहरुको पनि टुंगो लागिसक्ने र त्यसपछि मनोनयन दर्ता गरिने कार्यक्रम तय भएको छ ।
अनुसार जिल्ला कमिटीले जिल्लाका ७९ वटै वडाका अध्यक्षहरुको नाम पनि टुंगो लगाएको छ । पार्टीले निर्णय गरेका आधिकारीक उमेद्वारको पक्षमा उत्साह पूर्वक निर्वाचनमा जुट्न एमाले जिल्ला अध्यक्ष रामकुमार कार्कीले मातहत कमिटीलाई आग्रह गर्नुभएको छ ।










