चितवन कांग्रेसमा बिद्रोह : रेनुलाई मानिन्न भन्दै प्रभावशाली नेता पौडेलले गरे मेयरको उम्मेदवारी घोषणा

नेकपा माओवादी केन्द्रलाई भरतपुर महानगरपालिका प्रमुख दिने सत्तारुढ गठबन्धनको सहमतिलाई चितवनका कांग्रेस नेताहरुले अस्वीकार गरेका छन ।

भरतपुर महानगरपालिकामा पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनु दाहाललाई मेयरको उम्मेदवार बनाउने सहमति भएपछि कांग्रेसका नेताहरुले बिद्रोह गरी उम्मेदवारी घोषणा गरेका हुन । चितवन कांग्रेसका प्रभावशाली नेता एवं पूर्वसाँसद जगन्नाथ पौडेलले आज ठूलो संख्यामा उपस्थित कांग्रेस कार्यकर्ताबीच भरतपुर महानगरको मेयरमा उम्मेदवार बन्ने घोषणा गर्नुभयो ।

उहाँले कांग्रेसले रुख चिन्न नबोके पनि चारतारे झण्डा बोकिरहेको भन्दै आफू चारतारे झण्डा लिएर कांग्रेस मतदातााझ जाने बताउनु भयो । उहाँले कसैको दवावसामू आफ्नो स्वाभिमान नझुक्ने भन्दै उम्मेदवार बनेर कांग्रेसको स्वाभिमान बचाउने प्रण पनि गर्नुभयो ।

‘कुनै पनि बेला म कार्वाहीमा पर्न सक्छु, कुनै पनि बेला मलाई धम्की पनि आउन सक्छ तर म सतिसाल भएर उभिएको छु,’ पौडेलले भन्नुभयो, ‘म मेटिएला म झुक्दिन, म मासिएला तर म बिक्दिन, मैले मैदान छोडुला तर कुनै भ्रष्ट मान्छेलाई छोडदिन ।’