कांग्रेसका जनकपुरधाम नगरसभापति मनोज साहले राजीनामा दिएका छन्। शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै साहले साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको घोषणा गरेका हुन्।
सत्ता गठबन्धन दलले महानगर तथा उपमहानगरको बाँडफाँड गरेपछि जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टीको भागमा परेपछि नगरसभापति, सचिव, कोषाध्यक्ष, वडासभापतिसहित सयौँ कार्यकर्ताले कांग्रेस परित्याग गरेका हुन्।
नगरसभापति साहसँगै सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादव, वडा नं. १५ का सभापति नन्दलाल साहले राजीनामा दिएका हुन्। त्यस्तै, मनोज साहले आफ्नो वडामा रहेका डेढ सय क्रियाशील सदस्य, भ्रातृसंगठनबाट गरी अढाई सयभन्दा बढीले राजीनामा लेखिसकेको बताए ।
कांग्रेसले गठबन्धनमा जनकपुरधाम अरूलाई दिएर आफ्नै घरमा आफँैले आगो लगाएको भन्दै उनले अब आफू स्वतन्त्र उम्मेदवार दिने बताए। उनले भने, ‘नेपाली कांग्रेसको २५ वटै वडाका सदस्यहरूको भावनाअनुरुप मैले राजीनामा दिन लागेको छु। तिनीहरूले छाप जुन भए पनि अनुहार कांग्रेसी नै हुनुपर्ने भन्दै भ्रष्टाचारीलाई मत दिन नसकिने बताएपछि राजीनामा दिने निर्णयमा पुगेँ।’ साहले उम्मेदवारी दर्ताको समयसम्म पनि कांग्रेस सच्चिए आफू फर्कने बताए। गृहमन्त्रीले माथिबाटै कारवाही गर्ने धम्की दिइरहेकाले आफँैले राजीनामा दिएर स्वतन्त्र भएको उनको भनाइ छ।











