पाँच दलले स्थानीय तहको चुनावमा सकेसम्म अविलम्ब सहमति गर्न र नभएमा मित्रवत प्रतिस्पर्धा गर्न निर्देशन दिएको छ।
६ महानगरपालिका र ११ उपमहानगरपालिकको भागबण्डा टुंग्याउँदै पाँच दलका प्रमुख नेताहरुले सहमति नभए मित्रवत प्रतिष्पर्धाका लागि बाटो खोलिदिएका हुन्।
कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सहमति नभए मित्रवत प्रतिस्र्धा गर्न आह्वान गरेका हुन्।
उनीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘पाँच दलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावनाअनुरुप सम्बन्धित समितिहरुको बैठक बसी अविलम्ब सिट भाडफाँट तथा उम्मेदवारहरुको चयन गर्न निर्देश गरिन्छ। साथै सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धनभित्रै मित्रवत प्रतिस्पर्धा गर्न सकिने समेत समझदारी भयो।’
बालुटावारमा भएको भावण्डाप्रति देखिएको असन्तुष्टि दलभित्र छलफल र संवाद गरेर समाधान गरिने कांग्रेस नेता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादु कार्कीले जानकारी दिए।
कांग्रेसले प्रमुख छाडेको भरतपुर र पोखरामा बढी असन्तुष्टि दिएको छ। त्यसबारे सोधिएको प्रश्नमा कार्कीले भने, ‘छलफल संवादबाट असहमति समाधान गर्छौ। सबै दलले आआफ्ना कार्यकर्तालाई आग्रह गर्छौ। संविधान र लोकतन्त्रको रक्षाका लागि पाँच दलीय गठबन्धन आवश्यक छ। सबैले यसलाई मनन गर्नुपर्छ।’

