देशव्यापी चुनावी दौडाहा गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली बुधवार गोदावरीस्थित सनराइज हलमा फरक शैलीमा प्रस्तुत भए । ओलीकै ड्रिम प्रोजेक्टका रूपमा उनकै सरकारले निर्माण गरेको सनराइज हलमा युवाहरूको खचाखच भीड थियो ।
ती युवा एमालेका युवा संघ र अखिलका कार्यकर्ता भन्दा बढी विभिन्न क्षेत्रका व्यवसायी,विद्यार्थी र स्वतन्त्र खालका थिए । ओलीले चुनावी घोषणापत्र सार्वजनिक गर्नुअघि पार्टीभन्दा बाहिर रहेका स्वतन्त्र युवाहरू के चाहन्छन् भन्ने अभिमत लिन आफ्नै अग्रसरतामा ‘युवासँग म’ भनेर विशेष अन्तरक्रिया आयोजना गरेका हुन् ।
यस पटक युवाले बोले, नेताले सुने । सबैका आलोचना, सुझाव, जिज्ञासा र विरक्ति पोखिएका प्रश्न धैर्यपूर्वक सुनेका ओलीले सबैको चित्त बुझाउने गरी जवाफ दिए । नेपालमा शीर्ष तहका नेताले आफ्नो पार्टीको घेराबाहिरको जमातसँग अन्तरक्रिया गर्ने प्रचलन छैन,तर ओलीले यसको सुरुआत गरेकोमा युवाले धन्यवाद दिए ।
कसले के भने ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज युवाका कुरा सुन्न नयाँ अभ्यासको थालनी गरे । ललितपुरको गोदावरीमा आयोजना भयो– ‘युवासँग म ! विशेष अन्तरक्रिया कार्यक्रम’ !
जुन कार्यक्रममा युवाहरूले अध्यक्ष ओलीलाई धुवाँदार प्रश्नको वर्षा गरे । प्रश्नहरू देशको अवस्था, राज्य संयन्त्रमा देखिएका कमीकमजोरी, राजनीति र नेताहरूमा देखिएका समस्या, देशको अर्थतन्त्र, नयाँ युवा पुस्ताले गर्न चाहेका उद्यमलगायतका विषयमा सयौँ प्रश्नले अध्यक्ष ओलीलाई प्रहार गरे ।
कार्यक्रममा युवाहरूले राजनीतिमा देखिएका विकृति–विसंगतिविरुद्ध खरो आलोचना गरे । काठमाडौं स्कुल अफ लमा अध्ययनरत २० वर्षीय सरोज भट्टराईले केपी ओलीजस्तै आफ्नो पनि प्रधानमन्त्री बन्ने सपना भएको सुनाए । उनले ३५ वर्षको उमेरमा प्रधानमन्त्री बन्ने चाहना रहेको बताए ।
‘पार्टीगत जाँदा त्यसमा सम्भव होला कि, बुढाहरूको झोला बोकेर ६० वर्षमा जाँदा उपयुक्त होला ?’, उनको प्रश्न थियो ।
उनले अहिले २० वर्ष भएको र २४ वर्षमा आफूलाई सिद्धार्थनगरको टिकट दिने कि नदिने भनेर प्रश्न सोधे । उनले भने, ‘म कानुन पढिरहेको छु । राजनीतिमा चासो छ । २४ वर्षको उमेरमा सिद्धार्थनगरको टिकट मैले लिन चाहेँ र कोही ७ करोड बोकेर आए भने त्यो अवस्थामा उसलाई टिकट दिनुहुन्छ कि मलाई ?’

सर्वोच्च अदालतमा अहिले न्यायाधीश पनि पार्टीकै भएको उनले दाबी गरे । ‘म च्यालेञ्ज दिएर भन्न सक्छु सर्वोच्चका कुन न्यायाधीश कुन पार्टीका भन्न सक्छु’, उनले भने, ‘न्यायाधीश हुन पनि कुनै पार्टीको झोला बोक्नुपर्छ ।’
एमबीबीएस प्रवेश परीक्षा टपर विद्यार्थी सुजल पौडेलले चिकित्सा शिक्षा र क्षेत्रमा देखिएका विसंगतिको चिरफार गरेर अध्यक्ष ओलीलाई सुनाए । ‘एउटा विद्यार्थीले १५ वर्ष कठोर परिश्रम गरेर पढ्नुबाहेक ठूलो लगानी गरेर चिकित्सा शिक्षा लिन्छ’, उनले भने, ‘जब सरकारी जागिर खोज्छ । त्यहाँको आम्दानीले लगानी नै असुल हुन्न । यसले गरिब परिवारका विद्यार्थी कहिले चिकित्सक हुने ?’
गरिब परिवारले पढ्न त परै जाओस् स्वास्थ्योपचारमै समस्या रहेको उनले चित्रण गरे ।
राइडर कम्पनी पठाओका म्यानेजिङ डाइरेक्टर असिममानसिंह बस्नेतले युवाहरूको स्टार्टअप कल्चरलाई नेपालमा निकै गाह्रो रहेको औँल्याए । त्यसमा कर्मचारीतन्त्र र राजनीति दुवै क्षेत्रले सहयोग नगरिरहेको उनले बताए ।
प्रविधिमा आधारित कम्पनीहरूलाई व्यवस्थित र प्रशासित गर्ने कानुन नभएकोले समस्या भइरहेको बस्नेतले बताए । यसबाहेक उनले ‘मेहनत गर्ने युवाहरूले राजनीतिमा आउँदा विद्यार्थी राजनीतिकै बाटोबाट आउनुपर्ने हो र ?’ भनेर प्रश्न गरेका थिए ।

युवा उद्यमी सन्तोष पाण्डेले सरकारबाट युवा उद्यम लक्षित कार्यक्रमहरू उद्यमी युवाहरूसम्म पुग्न नसकिरहेको गुनासो गरे । ‘स्टार्टअपहरूलाई अनुदार र ऋण कार्यक्रममा ग्याप छ । युवा उद्यमीले फाइदा लिनै सक्दैनन्’, उनले भने, ‘सूचनामा ग्याप छ । इन्फरमेसन यूथ सेन्टर चाहिन्छ ।’
अनलाइन बिजनेसका लागि ‘अनलाइन बिजनेस नीति’ आवश्यक रहेको उनले औँल्याए ।
चीनमा युवा वैज्ञानिकका रूपमा कार्यरत सिभिल इन्जिनियर सुरज गौतमले राजनीतिक नेतृत्व र राज्य संयन्त्रमा बस्ने नेताहरूमा ‘बिचौलिया र गणेश प्रवृत्ति कहिले अन्त्य हुन्छ ?’ भनी प्रश्न गरे ।
उनले आधुनिक युगमा विकासका लागि प्रविधि चाहिने कुरालाई जोड दिँदै प्रश्न गरे, ‘प्रविधि इन्जिनियरले विकास गर्छ । आफ्नो पछिल्लो तीन वर्षे कार्यकालमा युवा इन्जिनियरलाई कुन भूमिका दिनुभयो ?’
युवा उद्यमी सतिश आचार्यले युवा उद्यमीका लागि कम्पनी रजिस्टार कार्यालय, कर कार्यालयलगायतका सरकारी संयन्त्र ‘पहिलो गाँसको ढुंगा’ जस्तै भएकाले त्यसलाई हटाउन अनुरोध गरे ।
नेपालमा जताततै युवा विदेश पठाउने एजेन्सीहरूका कार्यालय मात्र खुलेको दृष्टान्त पेस गर्दै उनले सुझाए, ‘युवालाई नेपालमै सम्भावना छ भनेर देखाउन राज्यले काउन्सेलिङ सेन्टर खोल्नुपर्छ ।’

पाटन बहुमुखी क्याम्पसमा विज्ञान संकायका विद्यार्थी प्रज्वल भण्डारीले हरेक वर्ष भौतिक शास्त्र (फिजिक्स) का ५ सय विद्यार्थी बाहिर जाने गरेको उल्लेख गर्दै ओलीलाई प्रश्न गरे, ‘ती विद्यार्थीलाई नेपालमै रोक्न तपाईँसँग के योजना छ ?’
यस्तै प्रश्न एमबीबीएस परीक्षाकी टपर सृजना श्रेष्ठले पनि गरेकी थिइन् । उनले सोधेकी छन्, ‘बिदेसिने युवालाई रोक्न के गर्नुहुन्छ ?’
स्ट्यान्ड अप कमेडियन राजा राजेन्द्र पोखरेलले कलाकारिता क्षेत्रको व्यवस्थापनका लागि आवश्यक पर्ने नीतिगत व्यवस्थामा राज्यको ध्यान नै पुग्न नसकेको गुनासो गरे ।

पाइलट उदीप श्रेष्ठले देश अगाडि बढाउन युवालाई तालिमप्राप्त बनाउनुपर्नेमा जोड दिए । तर नेताहरूमा युवालाई अगाडि बढाउँछौँ भनेर मोहजालमा पार्ने प्रवृत्ति रहेको बताउँदै उनले भने, ‘युवा अगाडि आउनुपर्छ, प्रधानमन्त्री, मन्त्री बन्नुपर्छ भनेर फाइदा लुटिरहेको जस्तो लाग्छ । युवालाई झण्डा उठाउने, प्रचार गराउने काममा मात्रै प्रयोग गरेको देखेको छु ।’
तेज स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाएका अर्पण शर्माले नेपालको शिक्षा प्रणालीमै समस्या भएकाले विद्यार्थीलाई गाह्रो भएको बताए । ‘कोर्स नै यसरी डिजाइन गरिएको छ कि पढ्न मन लाग्दैन, अल्छीलाग्दो छ । लौ न पढौँ भनेर सुरुमै ध्यान आकर्षित हुँदैन’, उनले भने, ‘न याद गर्ने टेक्निक नै हुन्छ ।’
उनले अध्यक्ष ओलीसामु प्रश्न तेर्स्याए, ‘इतिहास रट्ने युवा खोज्ने कि इतिहास रच्ने युवा खोजेका हौँ ?’

कार्यक्रममा सहभागी झण्डै दुई दर्जन युवाले अध्यक्ष ओलीलाई यस्तै पेचिला प्रश्न र अनुभव सुनाएका थिए । पूर्व क्रिकेटर विनोद दासले खेलकुद क्षेत्रमा राज्यले हेर्ने नजरिया नै फेर्नुपर्ने बताए । ‘खेलकुदलाई मनोरञ्जन र स्वस्थ बनाउने माध्यम मात्र होइन, व्यापार र देशको आयआर्जनका रूपमा अगाडि बढाउने माध्यम बनाउनुपर्छ’, उनले भने, ‘गहना जस्तो चाडबाडमा लगाएर अरू बेला निकाल्ने होइन । अब खेलाडीलाई कमाइको माध्यम बनाउनुपर्ने दिन आएको छ ।’
बेलायतमा ईपीएल, भारतमा आइपिएल, स्पेनमा लालिगाले देशको अर्थतन्त्रमै ठूलो योगदान पुर्याउने गरेको उनले सुनाए । त्यसैले ‘खेलमा खर्च होइन, लगानी’ भन्ने सोच विकास गर्नुपर्ने उनको तर्क थियो ।
ओलम्पियन दीपक विष्टले खेलकुदलाई अनिवार्य बनाउन र खेलाडीको गाँस, बास र कपासलाई गम्भीर तरिकाले सोच्नुपर्ने बताए । आजकै कार्यक्रम जसरी सम्बन्धित क्षेत्रमा मन्त्रालय र मन्त्रीहरूले पनि गर्नुपर्ने उनले औँल्याए ।
सहभागीहरूको जवाफमा अध्यक्ष ओलीले युवाहरूबाट निकै परिपक्व विचार आएको प्रतिक्रिया दिए । ‘देशलाई कता लैजानुपर्छ, कसरी लैजानुपर्छ भन्ने तपाईँहरूले ठिक ढंगले थाहा पाएको देख्दा खुसी लाग्यो’, उनले भने, ‘यसले देशको भविष्य उज्ज्वल छ भन्ने देखाएको छ ।’
युवाहरूमा असन्तुष्टि स्वाभाविक रूपमा हुने बताउँदै ओलीले त्यो असन्तुष्टि गलतको विरुद्धमा भएर सुधारको लागि पनि उपाय दिने खालको हुनुपर्ने बताए । ‘विकृति, विसंगति, भ्रष्टाचार, अकर्मण्यतामा, बेठीक नियतमा खराब कुराहरूमा हुनुपर्छ’, उनले भने, ‘असन्तुष्टि भएर मात्र हुँदैन । ती कुराहरूलाई नियन्त्रण गर्ने, तिनलाई कम गराउँदै निर्मूल गर्दै लैजानेमा हुनुपर्छ ।’