सत्ता गठबन्धनरत दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी र संघीय समाजवादीका बीच आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने सहमति बनेपनि उनीहरुका बीच पदीय भागबण्डा मिल्न नसक्दा लामो समय बितिसक्दा पनि सहमति हुन सकेन ।
सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले माओवादी केन्द्र सिन्धुलीले आफ्नो दलीय हैसियत भन्दा बढी पद मागेपछि गठबन्धनमा समस्या आएको एक जिल्ला नेताले बताए । उनका अनुसार गएको स्थानीय निर्वाचनमा कुन पालिकामा कुन दलले दोस्रो स्थान प्राप्त गरेको थियो त्यही आधारमा प्रमुख र उपप्रमुख तथा वडाहरु मिलाएर जाऔं भन्ने पक्षमा नेपाली कांग्रेस थियो, तर माओवादीले आफ्नो हैसियतभन्दा बढी स्थान दाबी गरेपछि गठबन्धन हुने अबस्था कमजोर बनेको हो ।
सिन्धुलीको नौं स्थानीय तह मध्ये तीनवटा पालिकामा माओवादी केन्द्र, तीन पालिकामा नेपाली कांग्रेस र तीन पालिकामा नेकपा एमालेले विजय गरेको थियो । एमालेले जितेका स्थानीय तहमा पनि नेपाली कांग्रेस दोस्रो पोजिसनमा थियो । अहिले हामी एक्लै चुनाब लडेर पनि निर्वाचन जित्न सक्ने अबस्था हुँदाहुँदै माओवादीलाई बोकेर हिंड्न तथा पार्टी र संगठनलाई कमजोर बनाउनेगरी गठबन्धन गर्न सकिंदैन, सिन्धुली कांग्रेसका एक प्रशावशाली नेताले भने । सन्देश जनप्रिय साप्ताहिकसँगको कुराकानीमा ती नेताले नेपाली कांग्रेसलाई बलियो र संगठित बनाईराख्नका लागि पनि एक्लै निर्वाचनमा जानुपर्छ ।
उनले भनेजस्तै नेपाली कांग्रेसले कमलामाई नगरपालिका र दुधौली नगरपालिका माओवादी केन्द्रलाई दिने पक्षमा छैन । किनकी दुबै नगरमा नेपाली कांग्रेसले थोरै मतले पराजय भोगेको थियो । कमलामाई कांग्रेसलाई र दुधौली माओवादी केन्द्रलाई दिनुपर्छ भन्ने अडानमा छ । यो अडान जारी रहँदा माओवादीका दोस्रो बरियताका नेताहरु गठबन्धन गरेर होइन आफ्नै बलमा निर्वाचन लड्नुपर्छ भन्ने पक्षमा उभिएका छन् । तर माओवादीका जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य राजन दाहाल र कांग्रेस सभापति उपेन्द्र पोखरेल मात्रै गठबन्धन गरेर जानुपर्ने पक्षमा उभिएकाछन् । कांग्रेस सिन्धुलीका एक नेता भन्छन्ः नेता पोखरेल र दाहालका लागि गठबन्धन पार्टी र संगठनका लागि होइन आफ्ना लागि चाहिएको छ । किनकी अहिले दुबै दलका नेता कार्यकर्ता एक अर्कादेखी सशङ्कित मात्रै होइन, एक्ला एक्लै चुनावमा जानुपर्छ भनिरहेकाछन् ।
कांग्रेसमा कस्ले मार्ला वाजी !
सिन्धुलीको कमलामाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तर्फबाट यो समाचार तयारपार्दासम्म कसैको नाममा सहमति जुट्न सकेको छैन । अघिल्लो स्थानीय निर्वाचनमा मेयरका उम्मेदवार बनेका अहिलेका पार्टी सभापति उपेन्द्र पोखरेल अहिले पनि मेयरका मुख्य दाबेदार हुन् । तर उनका लागि पार्टी उपसभापति दिपक घिमिरे यतिबेला मुख्य प्रतिस्पर्धी मानिएका छन् । नेपाली कांग्रेसभित्र बौद्धिक जमातले मात्रै पार्टीलाई बलियो बनाउन सक्छ र त्यस्तै शालिन व्यक्तित्वले मात्रै स्थानीय सरकारको नेतृत्व गर्नुपर्छ भन्ने कुरा अहिले कांग्रेस कार्यकर्ताहरुका बीच चर्चाको विषय बनिरहेको छ । गएको निर्वाचनमा उम्मेदवार छनोटमा परेका तर टिपेक्स लगाएर छोपिएका दिपक घिमिरे नेपाली कांग्रेसका आकांक्षी उम्मेदवारहरु मध्ये हेभीवेटवाला मानिन्छन् । स्मरणीय छः अघिल्लो स्थानीय निर्वाचनमा घिमिरेको नाममा टिपेक्स लागेपछि हालका पार्टी सभापति पोखरेलले मेयरको टिकट हात पार्नु भएको थियो । पोखरेल युवा पुस्तामाझ लोकप्रिय मान्छिन् भने घिमिरे सामाजिक व्यक्तित्वका रुपमा चिनिएकाछन् ।
नेपाली कांग्रेसका १४ वटै वडा कमिटीबाट पार्टी सभापति पोखरेल, उपसाभापति घिमिरे र अघिल्लो बाग्मती प्रदेसभा सदस्य पदमा पराजित उम्मेदवार माणिक ढकालको नाम अहिले कमलामाई नगरपालिकाको मेयरमा शिफारिश भएकाछन् । शिफारिश भएका तीन नेता मध्ये अहिले घिमिरे र पोखरेलकै प्रतिस्पर्धा देखिएको छ । कांग्रेस बाग्मती प्रदेश कमिटीले स्थानीय तहको प्रमुख र उपप्रमुखको उम्मेदवारी टुङ्गो लगाउने व्यवस्था गरेको छ । कांग्रेसको क्षेत्रीय समितिले वडा तहको उम्मेदवारी टुंगो लगाउने भनिएपनि स्थानीय स्तरमैं अधिकांश वडाहरुमा उम्मेदवार छनोट भएर प्रचारप्रसारमा जुटिसकेकाछन् ।
आफ्नो नाम पठाउन दबाब !
उम्मेदवार छनोटका लागि वडा वडाबाट नगरप्रमुख, उपप्रमुख र वडाअध्यक्ष एवम् सदस्यहरुको नाम शिफारिश भएपछि मात्रै उक्त पदमा आफ्नो माग बलियो रहने भएपछि नेपाली कांग्रेसमा अहिलेका अधिकांश आकांक्षीहरुले वडा तहको बैठकमा बसेर आफ्नो नाम प्रमुख र उपप्रमुखका लागि शिफारिश गराएको थाहा लागेको छ । आफ्नो पालिकाको वडामा कस्लाई प्रमुख र उपप्रमुख बनाउने भन्ने विषय सम्बन्धित कमिटीको भएपनि मलाई शिफारिश गरेर पठाउनुस् हैं भन्दा दबाब दिइएपछि कांग्रेसका स्थानीय कार्यकर्ताहरु चकित बनेकाछन् । आफ्नै पार्टी भित्रका साथीहरुले त पत्याउन असहज भएका नेताहरुले कसरी मेयरमा प्रतिस्पर्धा गर्न सक्लान् ? उनले जनप्रियसँगको कुराकानीमा भनेका थिए । बुधवारको सन्देश जनप्रिय साप्ताहिकले यो समाचार प्रमुखताका साथ प्रकाशन गरेको छ ।











