नेपालको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मितासँगै उन्नति सुनिश्चित गर्न नेपाललाई शान्तिभूमि बनाउन पूर्वराजा ज्ञानेन्द्र शाहले आह्वान गरेका छन्।
विक्रम सम्बत २०७९ को अवसरमा नेपालीहरुका नामा जारी सन्देशमा पूर्वराजा शाहले नेपाल शान्तिभूमि बनोस् भन्ने आकांक्षा व्यक्त गरे पनि राजा वीरेन्द्रले ४७ वर्षअघि राखेको र ११६ भन्दा बढी मुलुकले मान्यता दिएको अवधारणाभन्दा यो कत्ति फरक या समान छ, त्यो भने उल्लेख गरिएको छैन।
उनले भनेका छन्- ‘सबै राष्ट्र, सबै समुदाय मिलेर रहुन्, कतै अशान्ति नहोस्, कोही कसैमा विभाजन, विभेद नरहोस् भन्ने हाम्रो मान्यता हो । छिमेकी मित्र राष्ट्रहरुप्रति हामीले अवलम्वन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित गर्दैन, मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर हामी सदैव चनाखो
हुनुपर्दछ । यही भावनालाई आत्मसाथ गर्दै नेपाल शान्ति भूमि बन्न सकोस् भन्ने आकांक्षा हामीले राखेका हौं। तर आज नेपाल कोहीसँग कतै टांँसिएर कसैप्रतिको दूरभाव राख्ने मार्गतर्फ लाग्यो
कि भन्ने जुन धारणा उत्पन्न भएको छ त्यो आफैमा आत्महिनताको विषय बन्न गएको छ।’
पूर्वराजा ज्ञानेन्द्रले चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नसकेको उल्लेख गर्दै यसले आफूलाई चिन्तित पारेको उल्लेख गरेका छन्। उनले भनेका छन्- वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नु पर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर बृद्धि पनि हुनु पर्दछ । तर चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेको छैन । चिन्ताको विषय हाम्रो यो हो । प्यारो मातृभूमि नेपाल ‘त्रिपक्षीय महाशक्तिहरुबीचको शिखर आभूषण’ को रुपमा रहे पनि, आफ्नै भू बनोट, सामाजिक संरचना, गौरवपूर्ण इतिहास, मौलिक मूल्य मान्यता तथा परम्पराले गौरवान्दित रहिआएको छ।’











