वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जिल्लाअनुसार फरक–फरक मतपत्रको छपाइ सुरु गरेको छ।
स्थानीय तहको निर्वाचनमा यस पटक मतपत्र सानो बनेको छ। मतपत्रको लहर ५६ मा सीमित गरी निर्वाचन आयोगले शनिबार मतपत्रको छपाइ सुरु गरेको हो।
सबैभन्दा लामो मतपत्र काठमाडौँ जिल्लाको ५६ लहरको छ। आयोगले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ सुरु गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। जिल्लाबाट निर्वाचनमा भाग लिने दलहरुको संख्या अनुरुप जिल्लापिच्छे फरक–फरक आकारको मतपत्रको डिजाइन गरिएको छ।
काठमाडौँ उपत्यकालगायत ६ वटा महानगरपालिको मतपत्र छपाइ भने १८ गतेपछि हुने आयोगको भनाइ छ। आयोगले एक करोड ९४ लाख मतपत्र छपाइ गर्दैछ।
१ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भए पनि १० देखि १५ प्रतिशत बढी मतपत्र छपाइ गरिने आयोगले जनाएको छ। सरकारले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड आयोगलाई बजेट दिइएको छ।
आयोगका प्रवक्ता पौडेलका अनुसार बढी काठमाडौँको ५६ लहरको मतपत्र छ, भने सबैभन्दा सानो डोल्पामा १६ लहरको छ।
आयोगले मतपत्रमा निर्वाचन चिन्ह भने हरियो रंग नै कायम गरेको छ। काठमाडौँ जिल्लामा निर्वाचन भाग लिने दल र जिल्लागत संरचना ४० वटा दलको देखिए पनि आयोगले स्वतन्त्र उम्मेदवार समेतको अनुमानका आधारमा मतपत्रको लहर बढाएर छापेको आयोगका आयुक्त ईश्वरी पौड्यालले बताए।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विभिन्न ६ प्रकारका मतपत्र थिए। त्यसमा सबभन्दा सानो १८ लहरको र ठूलो ६८ लहरको मतपत्र थियो। स्थानीय तहको निर्वाचनमा ठूलो आकारको र जटिल किसिमको मतपत्रको संरचना र अपर्याप्त मतदाता शिक्षाको कारण बदर मतको प्रतिशतसमेत उच्च थियो। १० प्रतिशतसम्म स्थानीय तहमा मत बदर भएको थियो।
त्यस्तै, प्रतिनिधिसभा पहिलो निर्वाचित हुने प्रणालीमा बदर मत प्रतिशत ५ प्रतिशतसम्म र समानुपातिका १० प्रतिशत नाघेको थियो। मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मतको प्रतिशत उच्च भएको आयोगले स्वीकारेको थियो। यसपटक मतपत्र छोटो हुँदा बदर मत कम हुने र मतदाता शिक्षा दिन पनि सहज हुने विश्वास आयोगले लिएको प्रवक्ता पौडेलले बताए।