सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर र उपमेयरले आफुले प्रयोगगर्दै आउनुभएको सवारी साधन आजबाटै कमलामाई नगरपालिकालाई फिर्ता गर्नुभएको छ । नगरपालिकामा आज आयोजित संवाददाता सम्मेलनमा नगरप्रमुख खत्रीले स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा सवारीसाधनहरु राजनैतिक गतिविधीमा प्रयोग गर्नुहुन्न भन्ने मान्यताका साथ आजबाटै लागुहुनेगरी नगरप्रुमख खड्गवहादुर खत्री र उपप्रमुख मञ्जु देवकोटाले ५ वर्षदेखी चढ्दै आउनुभएको स्कारपीयो प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढाकाललाई जिम्मा लगाउनुभएको हो ।
सरकारी सम्पती राजनैतिक गतिविधीमा दुरुपयोग गरिनुहुन्न भन्ने कुरामा हामीहरु अत्यन्त सचेत छौं, नगरप्रमुख खत्रीले भन्नुभयो । किन अहिलेनैं सवारी साधान जिम्मा लगाउनुभयो भन्ने संवाददाताको जिज्ञासामा उहाँले हामी नगरप्रमुख मात्रै होइनौं नेकपा एमालेको नेता पनि हौं, त्यसैले निर्वाचन आइसकेका बेला हामी पार्टीका कार्यक्रमहरुमा जानै पर्ने हुन्छ, त्यसबेला सरकारी सम्पती दुरुपयोग हुनुसक्छ भनेरै गाडीको चावी जिम्मा लगाएको हुँ ।
तपाई फेरी पनि एमालेका तर्फबाट नगरप्रमुखको उम्मेदवार बन्न लाग्नु भएको हो भन्ने एक अर्को जिज्ञासामा उहाँले भन्नुभयोः व्यक्तिगत रुपमा फेरी पनि नगरप्रमुख बन्ने इच्छा त रहन्छ, पार्टीले फेरी पनि त्यो अबसर दियो भने म नगरप्रमुखको उम्मेदवार बन्न तयार छु , मैंले व्यक्तिगत रुपमा चाहेर मात्रै हुँदैन, पार्टीले फेरी पनि जानुपर्छ भन्यो भने त्यसबेला म पछि हट्ने छैन । संवाददाता सम्मेलनमा नगरप्रमुख खत्रीले आफुलाई विजयी बनाउने नगरवासी जनताप्रति आभार व्यक्त गर्नुभएको छ ।

