भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेबहादुर देउवाले दुई देशबीचको सीमा विवाद सुल्झाउन आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरेको बताएका छन्।
नयाँ दिल्लीमा शनिबार दुई देशका प्रधानमन्त्रीले भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन गरेका हुन्। त्यसक्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग सीमा विवादको विषयमा छलफल भएको बताएका हुन्।
सीमा सम्बन्धमा रहेको विवाद द्विपक्षीय संयन्त्रमार्फत समाधान गर्न आफूले समकक्षी मोदीलाई आग्रह गरेको देउवाले पत्रकार सम्मेलनमा जानकारी दिए।
पछिल्लो समय कालापानी–लिम्पियाधुरालाई लिएर नेपाल–भारतबीच प्रमुख रुपमा विवाद रहेको छ। सीमा विवाद समाधानका लागि कूटनीतिक तहमा छलफल तथा वार्ता गर्ने भनिए पनि हालसम्म त्यसले मूर्त रुप लिन सकेको छैन।
सीमा विवाद समाधानको कुरा दुई देशका नेताहरुको एकअर्काको देशमा हुने भ्रमणका बेलामात्रै उठ्ने गरेको देखिन्छ।
यसैबीच भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको सम्बन्ध निकै प्रगाढ रहेको बताएका छन्।
संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशको सभ्यता, संस्कृति र आदानप्रदानको धागो प्राचीन कालदेखि नै जोडिएको बताए। परम्परादेखि दुई देश एकअर्काका सुखदुःखका साथी रहेको उनले उल्लेख गरे।