पूर्वसेनापति थापाले पारिदिए माधवलाई नांगेझार

कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अभिब्यक्ति आपत्तिजनक रहेको भन्दै पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाले कडा प्रतिवाद गर्नुभएको छ । पूर्वप्रधानमन्त्री नेपालले सेनालाई बिवादमा पार्ने आपत्तिजनक अभिब्यक्ति दिएको भन्दै थापाले प्रतिवाद गर्नुभएको हो ।

नेपालले आइतबार पार्टी निकट समाजवादी प्रेस संगठनको विस्तारित बैठक समापनका क्रममा बोल्दा सेनामाथि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापतिसँग धेरैपटक बसेर गोप्य कुराकानी गरेको र बंगलादेशको मोडलमा चुनाव गराएर सत्ता कब्जा गर्ने षडयन्त्र गरेको सूचना सरकारी एजेन्सीहरुबाट आफूहरुले थाहा पाएको जिकिर गर्नुभएको थियो ।

नेपालले राष्ट्रपति र प्रधानसेनापतिसँग धेरैपटक गोप्य कुराकानी गरेको र चोलेन्द्र शमसेरसँग मिलेर अदालत कब्जामा लिन खोजेको जिकिरसमेत गर्नुभएको थियो । नेपालको सो भनाई सतप्रतिशत झुटो रहेको थापाले बताउनु भएको छ । ओली प्रधानमन्त्री हुनुभएको बेला थापा नै सेनापति हुनुहुन्थ्यो । सोही कारण थापाले नेपालको भनाइ निराधार र आपत्तिजनक रहेको बताउनु भएको हो ।

‘उहाँले जुन अभिव्यक्ति दिनुभएको छ त्यो टोटल्ली फल्स छ । यस्ता कुराको कुनै जस्टिफिकेसन छैन । राष्ट्रपतिज्यू र प्रधानमन्त्रीज्यूसँग म त्यसरी कहिल्यै बसिँन र मलाई तत्कालीन सरकार वा प्रधानमन्त्रीले कहिल्यै त्यसो भन्नु पनि भएन,’ अनलाइन मिडिया नेपाल प्रेससँगको संवादमा पूर्वप्रधानसेनापति थापाले भन्नुभएको छ, ‘यो कुरा किन र कुन उद्देश्यले आएको हो जिम्मेवार व्यक्तिहरुले नेपाली सेनालाई यसरी विवादमा तान्न हुँदैन ।’ थापाको यो भनाईले माधव शतप्रतिशत झुटको खेती गर्ने खलनायकको रुपमा चित्रित गरेको छ ।

यस्तो थियो माधवको आक्षेप
त्यसबेला केपी ओलीले प्रधानसेनापतिसँग, राष्ट्रपतिसँग धेरैपटक गोप्य कुराकानी गरेका थिए । उनको दिमागमा बंगलादेश चलिरहेको थियो । चुनाव गराउने, ठटाउने, जम्मै सेटिङ मिलेकै थियो, निर्वाचन आयोगले चुनाव घोषणा गर्ने अनि कब्जा गर्ने ।

चोलेन्द्र शमसेरसँग हप्ताका दुई दिन बालुवाटारमा भेटेर स्थानीय चुनावम कुन कुन न्यायाधीश कहाँ खटाउने, अर्को प्रहरीका मान्छे बोलाएर कुन प्रहरी कहाँ खटाउने ? त्यो सबै वर्कआउट भएको थियो । सबै कुरा सरकारको एजेन्सीबाट थाहा पाइयो । मैले पनि सरकारका एजेन्सीबाट थाहा पाएँ । उनको त्यो दिमागमा चलिरहेको थियो ।

पुस ५ मा संसद विघटन गर्छु, दुईतिहाई बढी ल्याउँछु । कसैले चित्त नबुझे अदालत जान्छ । अदालत आफ्नै छ, उल्ट्याइदिन्छु । निर्वाचन आयोग आफ्नै छ, त्यसले नभए सम्पत्ति शुद्धीकरण लगाइदिन्छु । राजश्व अनुसधान लगाउँछु । व्यापारी छन् भने त्यहिँ सकिन्छन् । अरु कोही छन् भने छानबिनबाट त्यहीं झुण्डिरहेका हुन्छन् । साइबर स्याल खडा गरेकै छ, साइबर स्यालले हो हो भन्ने यस्तोसम्म थियो ।