नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनको बारेमा टिप्पणी गर्न आवश्यक नरहेको बताएका छन्। कपिलवस्तुमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै आफूलाई गठबन्धनको बारेमा धेरै चर्चा गर्न आवश्यक नरहेको भन्दै गठबन्धनप्रति व्यङ्ग्य गरे।
‘गठबन्धनबारे धेरै चर्चा गर्न मन छैन, कठैबरा बिचरा भन्न मन छ,’ उनले व्यङ्ग्य गर्दै भने, ‘कांग्रेस एक जमानामा ठूलो जुरो भएको बलियो साँढेजस्तो थियो, अहिले दुईतिर वैशाखी टेकेर हिँडिरहेको छ।’
चुनावी सभाको झल्को दिने कार्यक्रममा देश विकासका योजना सुनाउँदै उनले देशको विकासका लागि एमालेको जित आवश्यक रहेको बताए। उनले भने, ‘देशको सामाजिक उन्नति प्रगतिका लागि एमाले चाहिएको छ, शिक्षा स्वास्थ्य रोजगार र विजुलीका लागि एमाले चाहिएको छ, आधुनिक नेपाल निर्माणका लागि एमाले आवश्यक छ।’
उनले मुलुकमा एमालेले विकासको लहर ल्याएको बताए। ‘हामीले विमानस्थललाई रातीमा समेत विमान उड्नसक्ने क्षमतामा पुर्यायौँ, सडक निर्माणमा छलाङ मार्यौँ, अन्तरिक्षमा हाम्रो स्पेशसमेत हामीले तयार गर्न सफल भएका छौँ,’ उनले भने, ‘हामीले औद्योगिक क्षेत्रहरु विस्तार गरेर मुलुकलाई नै आत्मनिर्भर बनाउनका लागि काम गरेका छौँ।’
उनले कपिलवस्तुलाई औद्यौगिक जिल्लाका रुपमा विकास गर्न सकिने गरी योजना ल्याउने बताए। उनले नदी पथान्तर गरेर कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ अघि बढ्ने बताए। उनले कपिलवस्तुमा एमाले बाढीको रुपमा पसेर विकासको बाढी ल्याउने बताए।
उनले यी योजनाहरु पूरा गर्नका लागि नयाँ उत्साह र योजनाका साथ एमाले अघि बढिरहेको बताए। अहिले एमालेमा प्रवेश गर्ने लहर चलिरहेको भन्दै यसरी नै लहरहरु चलिरहने बताए।
एमाले उपाध्यक्ष विष्णु पौडेलले एमालेले आगामी ५ वर्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने गरी अभियान चलाएको बताए। उनले एमालेले ल्याएका विकासका योजनाहरु पूरा गर्नका लागि एमालेलाई फेरि एक पटक मौका दिनुपर्ने बताए।
कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले एमालेले देशव्यापी अभियान सञ्चालन गरेको र ती अभियानमा सहभागी भएर मुलुकलाई विकासको दिशातर्फ लग्नका लागि साथ दिन आह्वान गरे।