आउँदो बैशाख १० गते हुने भनिएको स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर सिन्धुलीका राजनैनिक दलहरुले आफ्नो गतिविधीलाई प्रमुखताका साथ अगाडि बढाउन थालेकाछन् । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीले नौं स्थानीय तहमा आफ्नो पार्टीको साङ्गठानिक अबस्थावारे मिहिन ढंगले बुझ्ने काम गरेसँगै टोल कमिटीहरुलाई पूर्णता दिन थालेको छ ।
एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङका अनुसार स्थानीय तहमा पार्टीको अबस्था र सुधार गर्नुपर्ने पक्षबारे मातहतका कमिटी अध्यक्षहरुसँग बसेर छलफल गरिसकिएको छ ।
निर्वाचन आयोग सिन्धुलीले मतदाता नामावलीमा रहेका त्रुटीलाई अद्याबधी गर्ने कार्य अगाडि बढाईरहेका बेला एमाले सिन्धुलीले आफ्नो पार्टीबाट निर्वार्चित पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र पार्टी कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिवसहितको संयुक्त बैठककको आयोजना गरेर निर्वाचन केन्द्रीत अभियान सञ्चालन गर्न निर्देशन दिइसकेको छ । सोही निर्देशन अनुसार एमालेले टोलटोलमा कमिटी गठनगर्दै अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेका बेला रहेका बेला गरेका राम्रा कामहरुको प्रचारप्रसारलाई तिब्रता दिन थालिसकेका छन् ।
त्यसैगरी सत्तारुढ नेपाली कांग्रेसले पनि पार्टी केन्द्रले सञ्चालन गरेको अभियानलाई गाउँ गाउँमा लैजाने तयारी थालेको छ । कांग्रेसले थालेको अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरिएपनि केन्द्रिय सदस्य मुक्ता यादव सिन्धुली नआएका कारणले अभियन सञ्चालन नभएको तर त्यसको सम्पूर्ण तयारी भने पुरा भइसकेको जिल्ला सभापति उपेन्द्र पोखरेलले जानकारी दिए । यादवको गृह जिल्ला धनुषा भएकाले धनुषामा काँग्रेसको जिल्ला अधिवेशन चलि रहेको कारणले उहाँ आइपुग्न केही दिन लाग्न सक्ने पोखरेलको भनाई छ ।
काँग्रेसका केन्द्रिय सदस्य मुक्ता यादवको संयोजकत्वमा जिल्ला कार्यसमिति सिन्धुलीको समन्वमा एउटा वडा एक जिल्लाको प्रतिनिधी र सहजता हेरेर थप २ जना प्रतिनिधीको समुह बनाएर परिचालन गर्ने तयारी भएको अध्यक्ष पोखरेलले बताए । उनका अनुसार त्यसरी खटाइएका प्रतिनिधीलाई पालिकाका वडा र टोलमा पठाई कांग्रेसलाई जिताउन अभियान सञ्चालन गरिने छ ।
सिन्धुली कांग्रेसले चुनावी अभियान अन्तर्गत ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान सुरु गर्ने र त्यसले नेता कार्यकर्तामा नयाँ उर्जा थप्ने अध्यक्ष पोखरेलको भनाई रहेको थियो ।
यता सत्ता साझेदर दल नेकपा (माओवादी केन्द्र)ले पनि निर्वाचन केन्द्रीत अभियानलाई अगाडि बढाउन थालेको छ । माओवादी केन्द्रका जिल्ला संयोजक रामकुमार पौडेलका अनुसार सिन्धुलीका नौं वटै पालिका कमिटीको बैठक राखेर पार्टीको अबस्था र आगामी दिनमा खेल्नुपर्ने भूमिका वारे व्यापक छलफल भइसकेको छ । निर्वाचलाई केन्द्रमा राखेरै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट चैत ५ गते जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्ने कार्यक्रम राखेको छ । सो कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड अघिल्लो दिननैं सिन्धुली सदरमुकाम आइपुग्ने र कार्यकर्ताको घरमा बस्ने तय भएको छ । अध्यक्ष प्रचण्डले माओवादीका जिल्ला स्तरीय नेता कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ । सम्बद्ध स्रोतका अनुसार अध्यक्ष प्रचण्डले सुनकोशी गाउँपालिकाको निर्माणाधिन प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ । स्मरणीय छ, उक्त प्रशासनिक भवनको निर्माण कार्य सम्पन्न भइसकेको छैन ।
राप्रपाको विशाल जनसभा
प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुलीले पनि चैत्र ५ गतेनैं सिन्धुली सदरमुकाममा विशाल जनसभाको आयोजना गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङदेन, पूर्व मन्त्री एवम् बरिष्ठ नेता बिक्रम पाण्डे र अभिनेत्री रेखा थापाले सम्बोधन गर्ने कार्यक्रममा गाउँ गाउँबाट कार्यकर्ताहरु सदरमुकाममा उतार्दैछ । जिल्ला सचिव श्रीकृष्ण घिसिङले दिएको जानकारी अनुसार राप्रपाको चुनावी अभियान थाल्नका लागि आजको जनसभाले सहयोग पु¥याउने छ । महाधिवेशनपछि विभाजन भएको राप्रपा सिन्धुलीमा भने त्यसको कुनै ठूलो असर परेको छैन । त्यही कारणले पनि राप्रपाले हिन्दु राष्ट्र र संबैधानिक राजतन्त्रको मुद्धालाई बोकेर आउँदो स्थानीय निर्वाचनमा जाने तयारी थालिसकेको छ । घिसिङ भन्छन्ः सत्ता गठबन्धनबाट जनताले महंगी, कालोबजारी जस्ता समस्याहरुले हैरानी व्यहोरी रहेकाछन्, त्यसैले आउँदो निर्वाचन राप्रपाका लागि निकै महत्वपूर्ण छ ।
उम्मेदवारका लागि ढकढक्याउँदै ढोका !
आउँदो स्थानीय निर्वाचनमा आफुलाई उम्मेदवार बनाइदिनु प¥यो भन्दै जिल्ला स्थित दलका नेताहरुको ढोका ढोकामा कार्यकर्ताहरु पुग्न थालेका छन् । विगतमा आफ्नो पक्षमा नेतृत्व हत्याउनका लागि पालिका अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष बनाइदिन्छौं भनेर गरेका बाचा पुरा गराउनु परो भन्दै कार्यकर्ताहरु नेताको दैलोमा पुग्न थालिसकेका छन् । एमाले जिल्ला उपाध्यक्ष कर्ण घिसिङले गत महिना मात्रै तीनपाटन गाउँपालिकामा एमालेद्धारा आयोजित कार्यक्रममा भनेका थिएः टिकटका लागि नेताको दैलोमा होइन, जनताको घर घरमा जानुस् टिकट आफैं आउँछ । एमाले उपाध्यक्षको उक्त भनाईले पनि कार्यकर्ताहरु आफुलाई टिकट चाहियो भन्दै आउन थालेको संकेत गर्दछ । एमालेमा मात्रै होइन, नेपाली कांग्रेस र माओवादी केन्द्रका जिल्ला अध्यक्ष उपेन्द्र पोखरेल र राजन दाहाल समक्ष पनि उम्मेदवार बनाइदिनुप¥यो भन्दै आउने कार्यकर्ताहरुको समूह निकै ठूलो छ । त्यसैले पनि अहिले जिल्लाका प्रमुख दलका नेताहरुका लागि उम्मेदवारी छनोट निकै सकसपूर्ण हुने अबस्था देखिएको छ ।
सबै दलमा भाबी उम्मेदवारको चर्चा पाउनेमा हालका जनप्रतिनिधी देखी नयाँ पुस्ताका युवा नेताहरु रहेकाछन् । उनीहरूले जनसम्पर्क विस्तार, संगठन निर्माण गर्नुका साथै आ–आफ्ना कार्ययोजनाका फेहरिस्त जनतालाई सुनाउन थालेका छन् ।
सिन्धुलीका दुई नगरपालिका र सात गाउँपालिका गरी नौँ स्थानीय तहमा हुने निर्वाचन निकै रोचकपूर्ण हुने देखिन्छ ।
राजनैतिक दलभित्र आफ्नालाई भन्दा पनि जित्नेलाई टिकट दिनुपर्ने र व्यक्तिको लोकप्रियताको ख्याल गर्नुपर्ने आवाज जोडतोडले उठ्न थालेको छ । कतिपय व्यक्तिले त नामै तोकेर अबको निर्वाचनमा उम्मेदवार बन्न नेताहरूलाई आग्रहसमेत गरेका छन् । कार्यकर्ताले सामाजिक सञ्जालबाट दबाबमूलक इच्छा प्रकट गरे पनि पार्टीको निर्णय अर्के हुनसक्ने नेताहरू बताउँछन् । स्थानीय तह निर्वाचनमा समेत गठबन्धन कायम रहने हो भने निर्वाचनको माहोल अझ रोचक बन्ने देखिएको छ ।-यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले प्रमुखताका साथ प्रकाशन गरेको छ ।










