पास हुने सुनिश्चित नभइ एमसिसीमाथिको सैद्धान्तिक छलफल सुरु नहुने

बिहीबार र शुक्रबार प्रतिनिधिसभाको कार्यसूचीमा एमसिसीमाथि सैद्धान्तिक छलफल सुरु हुने तयारी थियो। तर दुवै दिन प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरे।

बिहीबार बैठक स्थगित नभएको भए एमसिसीलाई सैद्धान्तिक छलफलमै प्रवेश गर्न नदिने गरी विफल बनाउने माओवादी केन्द्रको योजना चुहिएपछि प्रधानमन्त्री देउवाले मन्त्रीहरुमार्फत बैठक रोक्न लगाए। त्यस्तै घटनाक्रम शुक्रबार पनि दोहोरियो।

अमेरिकासँग प्रधानमन्त्री देउवा आफैले गरेको प्रतिबद्धताअनुसार फागुन १६ गतेभित्र संसदबाट अनुमोदन भइसक्नुपर्ने हो। अनुमोदन गराउन प्रधानमन्त्री देउवाले हरसंभव कोसिस गरे पनि सत्ता सहयात्री दल माओवादी केन्द्र र एकीकृत समाजवादी नै विपक्षमा उभिने भएपछि फागुन १६ गतेको डेटलाइन पूरा नहुने भएको छ।

सरकार संसदबाट एमसिसी पारित हुने सुनिश्चित नभइ अगाडि बढाउने पक्षमा नरहेको कांग्रेस सचेक पुष्पा भुसालले बताइन्।

शुक्रबार दोस्रो दिन पनि बैठक स्थगित भएपछि भुसालले भनिन्, ‘पारित हुने संख्या सुनिश्चित नभइ एमसिसीलाई अघि बढाउने पक्षमा प्रधानमन्त्रीज्यू हुनुहुन्न। बिहीबार अघि बढाएको भए दुर्घटनामा पर्ने रहेछ।’

बिहीबार माओवादीका कम्तिमा २८ जना सांसदले सैद्धान्तिक छलफलमै प्रवेश गर्नुअघि नै मत विभाजन माग्ने र विपक्षमा बहुमत पुर्‍याउने रणनीति लिएका थिए।