बालकोटमा देउवा र ओलीबीच वार्ता जारी

प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोट गएका छन् । शुक्रबार साँझ नेताहरुसहित देउवा बालकोट पुगेका हुन् ।

देउवाको साथमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की छन् । त्यस्तै एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली पनि वार्तामा सहभागी छन् । दिनभर जसो सत्ता गठबन्धनका नेताहरुसँग छलफल गरेका देउवा ओलीसँग छलफलका लागि बालकोटा पुगेका हुन् । देउवाले दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए ।

प्रचण्डले बोलाएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसीबारे पार्टीको पूर्ववत धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने निर्णय गरेको थियो । त्यसै अनुसार गठबन्धन पनि जोगाउने र एमसीसीलाई पनि पास गर्ने गरि गठबन्धन लागेको बताइएको थियो ।

तर, देउवा बालकोट जानुले गठबन्धनमा मध्यमार्गी बाटो खोज्ने प्रयास सफल नभएको मान्न सकिन्छ । पछिल्लो समय देउवाले एमालेसँग निरन्तर संवाद गरिरहेका छन् ।

बिहीबार दिउँसो संसद भवनामा देउवा र ओलीबीच छलफल भएको थियो । त्यसपछि साँझ पनि बालुवाटारमा ओली र देउवाबीच छलफल भएको थियो । त्यसअघि पनि एकपटक देउवा बालकोट र ओली बालुवाटारमा भेटेर संवाद गरेका छन्।