एमसिसीबारे ओली र नेपालसँग चिनियाँ नेताहरुको कुराकानी

एमसिसी अनुमोदन प्रकरणले नेपालको आन्तरिक राजनीति तरंगित भइरहेका बेला चिनियाँ नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग कुराकानी गरेका छन्।

एमसिसी नेपालको संसदले अनुमोदन गर्नु हुँदैन भनेर खुलमखुला अभिव्यक्ति दिइरहेको चीनले दुई पूर्वप्रधानमन्त्रीहरुसँग बुधबार एकपछि अर्को गरी कुराकानी गरेका हुन्।

एमाले स्रोतका अनुसार ओलीसँग चिनियाँ पार्टीका विदेश विभाग प्रमुख सङताओले ओली बुधबार बिहान कुराकानी गरेका हुन्।

त्यस्तै नेपालनिकट स्रोतले पनि विदेश विभाग उपप्रमुख चेन झाओले नेपालसँग संवाद गरेको पुष्टि गर्‍यो। दुवै नेताहरुसँगको कुराकानीमा चिनियाँ नेताहरुले एमसिसी अनुमोदन नगर्न र कम्युनिष्ट पार्टीहरु मिलेर अघि बढ्न सुझाव दिएका छन्।

बुधबार नै चिनियाँ विदेश विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले बुधबार पत्रकार सम्मेलनको क्रममा ‘एमसिसी उपहार हो कि पान्डोराज बक्स?’ भनेर टिप्पणी गरेकी थिइन्।

अमेरिकाले नेपालमा ‘बलपूर्ण कूटनीति’ अपनाएको आरोप लगाउँदै प्रवक्ता हुवाले चीन नेपालको पक्षमा रहेको बताएकी थिइन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि चिनियाँ नेताहरुले बारम्बार कुराकानी गर्दै आएका छन्।

चिनियाँ नेताहरुको आग्रहमै बिहीबार ओली र दाहालबीच भेटवार्ता भएको स्रोतको दाबी छ। उनीहरुबीच दुई घण्टाभन्दा बढी छलफल भएको छ।