रूस र युक्रेनबीचको सङ्कटले संसारको ध्यान आकृष्ट गरेको छ । बितेका केही सातायता दुवै देशले सीमा क्षेत्रमा आ–आफ्ना सेना तैनाथ गरेका छन् । यस्ता गतिविधिले रूस र पश्चिमा देशहरूबीच निकट भविष्यमा लडाइँको त्रास बढाएको छ ।
युक्रेनसँगको लडाइँले रूसलाई कुनै लाभ हुनेछैन । बरु उसलाई थुप्रै चुनौतीतिर डो¥याउनेछ । सन् २०१४ को युक्रेन सङ्कटपछि रूसले युक्रेनको पूर्वतिर रहेका लुहान्स्क र दोनात्स्क सहरमा आफ्नो प्रभाव विस्तार गरेको छ । रूसले सैनिक माध्यमबाट क्रिमियालाई आफूमा समाहित गरेको छ ।
तर, युक्रेनमा मस्कोको थप सम्भावित सैनिक प्रभावले भने रूसमाथि चुनौती थपिनेछ । युक्रेनी सेनाको बलियो उपस्थिति र स्थानीय जनताको देशभक्ति भावनाको कारण दोनात्स्क, लुहान्स्क र क्रिमियाबाहेक रूसले आफ्नो नियन्त्रण वा प्रभाव विस्तार गर्न सकेको छैन । त्यसमाथि रूसलाई वाशिङ्टनले थप नाकाबन्दी थोपर्ने चेतावनी दिएको छ । सन् २०१४ को सङ्कटपछि रूसविरुद्ध वासिङ्टनको नाकाबन्दीले रुसमाथि आर्थिक दबाब परेको छ । गत साताहरूमा वाशिङ्टनले पटक–पटक रूस र युक्रेनबीच लडाइँ भए मस्कोमाथि थप नाकाबन्दी थोपर्ने चेतावनी दिंदै आएको छ । त्यसकारण, युक्रेन र रूसको लडाइँ भए त्यसको मूल्य निकै बढी हुनेछ ।
दोनात्स्क, लुहान्स्क र क्रिमियामा आफ्नो उपस्थिति कायम राख्न मस्कोले युक्रेन र अरू युरोपेली देशहरूबाट सहयोग पाउन आवश्यक छ । दुवै लुहान्स्क र दोनात्स्कले सन् २०१४ पछि नै आफ्नो अलगै सरकार चलाउँदै आएका थिए । उनीहरूले आफूलाई रूसमा समाहित गर्न आग्रह गर्दै आएका थिए । तर, मस्कोले उनीहरूको यस्तो आग्रह मानेको थिएन । मस्कोको कोणबाट हेर्दा आफूले धान्न सक्ने गरी मात्र युक्रेनमाथि आफ्नो प्रभाव विस्तार गर्नु उचित हुन्छ । ठूलो आकारको लडाइँ गर्नुको अर्थ रूसले युक्रेनमा आफ्नो नियन्त्रण विस्तार गर्नु हो । जति धेरै क्षेत्र रूसले नियन्त्रण गर्छ, उसलाई त्यत्ति नै ती क्षेत्रमाथि नियन्त्रण कायम राख्न गाह«ो हुन्छ । बरु, पूर्वी युक्रेनमा पृथकतावादी शक्ति बनाएर युक्रेनलाई दण्डित गर्नु र नत्थी लगाउनु रूसको लागि विवेकपूर्ण हुनसक्छ । यस्तो परिस्थितिमा मस्कोले युक्रेनविरुद्ध थप युद्ध उछाल्न आवश्यक छैन र उसले चाहँदैन पनि ।
त्यसका साथै युक्रेनविरुद्ध लडाइँ गर्नुले नाटोविरुद्ध उसको रणनीतिक लेनदेनको बाटो पनि बन्द हुनसक्छ । नाटोलाई पूर्वतिर थप विस्तार हुनबाट रोक्न रुसले पूर्वी युरोपको आफ्नो रणनीतिक प्रभाव क्षेत्रलाई सुरक्षित गर्न चाहेको छ । त्यसको निम्ति उसले पश्चिमा देशहरूबाट प्रतिबद्धता खोजेको छ । सन् १९९१ यता नाटोको क्रमिक तर लगातार पूर्वतिरको विस्तारले रूसको राष्ट्रिय सुरक्षा र रणनीतिक हितलाई चुनौती दिइरहेको छ । मस्कोले एउटा नयाँ संरचना स्थापना गरेर युरोपेली सुरक्षाबारे आफूसँग गम्भीरतापूर्वक छलफल गर्न पश्चिमा देशहरू बाध्य होऊन् भन्ने चाहेको छ । युक्रेनसँग मस्कोको द्वन्द्वलाई ध्यानमा राखी युक्रेनलाई नाटोको सदस्य बनाई नहाले पनि रूस युक्रेनभित्र संरा अमेरिकाले मिसाइल र अन्य रणनीतिक हातहतियार तैनाथ गर्ला कि भनी आत्तिएको छ । त्यसकारण मस्कोले युक्रेनको सङ्कट चालु रहे पनि त्यसले लडाइँको रूप लिएको हेर्न चाहेको छैन । युरोपमा अमेरिकी मध्यम दुरीका बालास्टिक मिसाइलको परिचालन रोक्न र आफ्नो सीमामा युक्रेन र अन्य देशको सैनिक उपस्थिति र गतिविधि सीमित राख्न युक्रेनको सङ्कटले मद्दत गरोस् भन्ने रूसको लक्ष्य छ ।
जहाँसम्म युक्रेनको कुरा छ, रूसविरुद्ध लडाइँ गर्नु युक्रेनको लागि असम्भव प्रायः छ किनभने युक्रेनी सेनाले रूसी सेनाको आक्रमण सामना गर्नसक्दैन । सन् १९९० दसकमा युक्रेन सोभियत सङ्घबाट अलग भएपछि युक्रेनी सेनाको क्षमता उल्लेखनीयरूपमा घट्यो । रूसबाट हुने हमला रोक्न युक्रेनी सेनाले ठूलो क्षमता जम्मा गर्नुपर्ने हुन्छ । त्यसो गर्नु युक्रेनी सेनाको लागि कठिन काम हो ।
रूसमा हुनसक्ने सम्भावित हमलाको प्रतिकार गर्ने चाहना र इच्छाशक्ति युक्रेनले संसारसामु देखाएको छ । उसले दोन्त्स्क, लुहान्स्क र क्रिमिया फिर्ता लिन सधैँ प्रयास गरिरहनेछ । तर, छोटो समयावधिमा यो लक्ष्य हासिल गर्न लगभग असम्भव भएको युक्रेनलाई राम्ररी थाहा छ । रूसविरुद्ध लडाइँ गर्नुको अर्थ युक्रेनले थप भूमि गुमाउनु र लडाइँको मैदानमा पराजित हुनु हुनेछ ।
लडाइँ न रूसले चाहेको छ न युक्रेनले नै । रूससँग लडाइँ जित्ने युक्रेनसँग कमैमात्र आशा छ । अर्कोतिर युक्रेनमाथि रूसको लडाइँले युक्रेनलाई थप पश्चिमा देशहरूको नजिक धकेल्नेछ । यसो गर्नु पूर्वी युरोपमा मस्कोका रणनीतिक लक्ष्यविपरीत हो । सीमा क्षेत्रमा दुवैसँग ‘चिसो शान्ति’ कायम राख्नु र फ्रान्स, जर्मनी र टर्कीको समेत सहयोगमा दुई देशबीच सम्पर्क कायम राख्नु रूस र युक्रेन दुवैको लागि स्वीकार्य छ ।
युक्रेन सङ्कट समाधान गर्न नाटोमा नेतृत्वदायी भूमिकामा रहेको संरा अमेरिकाले रूसलाई सुरक्षाको वाचा गर्नुका साथै रूसका छिमेकी देशहरूमा मिसाइल र सैनिक परिचालनबारे गम्भीर कुराकानी गर्न अग्रसरता देखाउनुपर्छ । सबै युरोपेली देशहरूको सुरक्षाको बलियो आधार स्थापना गर्न नयाँ हेलसिन्की सम्झौताले रूस र युरोप हुँदै सिङ्गो युरोपमा शान्तिको स्थापना हुनसक्छ ।
रूस र युक्रेनबीचको तनाव पश्चिमा देशहरू, विशेषतः अमेरिकासँग रूसको रणनीतिक सहमति हुनसकेमात्र शान्त बनाउन सकिन्छ । लडाइँ न रूसले चाहेको छ न युक्रेनले । शान्तिको मूल सूत्र भनेको रूस र संरा अमेरिकाबीच संवादको टेबुलमा बस्नु हुनेछ ।
(लेखक चीनको नर्थवेस्ट विश्वविद्यालयका सहायक प्राध्यापक हुनुहुन्छ ।)
सीजीटीएनबाट नेपालीमा अनुदित सामग्री











