चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले एमसिसी पारित गराउनका लागि अमेरिकाले नेपालमा ‘बलपूर्ण कूटनीति’ अपनाएको र आफूहरुले त्यसको विरोध गर्ने बताएका छन्।
शुक्रबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता वाङले अमेरिकाले नेपाललाई फेब्रुअरी २८ सम्म एमसिसी पारित गर्न सुझाव दिएको भन्ने सन्दर्भमा सोधिएको प्रश्नको जवाफ दिएका हुन्।
नेपालसँग अन्तर्राष्ट्रिय समुदायको सहकार्यको चीनले स्वागत गर्ने तर त्यो नेपाली जनताको इच्छा अनुरुप हुनु पर्ने वाङले बताएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।
नेपालको आर्थिक विकास तथा जीवनस्तर उकास्नका लागि गरिने अन्तर्राष्ट्रिय सहयोग नेपाली जनताको हितमा हुनु पर्ने चीनको धारणा रहेको उनले बताएका छन्। त्यस्ता सहयोगहरुमा कुनै पनि राजनीतिक शर्त हुन नहुने प्रवक्ता वाङले बताए।
छिमेकी तथा नेपालको विकास सहयोगकीका रुपमा चीनले नेपालीहरुलाई विकासको आफ्नो मार्ग रोज्नका लागि स्वतन्त्र छोड्ने र त्यसको समर्थन गर्ने वाङको भनाइ छ। कुनै पनि सहयोग सम्बन्धी निर्णयहरु नेपालले आफ्नो देशको स्वार्थ र नागरिकको चाहना प्रतिबिम्बित हुने गरी गर्नु पर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङले बताएका हुन्। चीनले नेपालको विकासका लागि सहयोग प्रदान गरिरहने पनि उनले उल्लेख गरे।
एमसिसी संसदबाट पारित गर्ने प्रयास भइरहँदा विरोध प्रदर्शन चर्किएका छन्। प्रदर्शनहरुले हिंसात्मक रुपसमेत लिएका बेला चीनले आफ्नो धारणा सार्वजनिक गरेको हो।











