संसदमा एमसीसी टेबल गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटा राजी भएका छन्। सोमबार सर्वदलीय बैठकपछि सभामुख सापकोटाले कुनै पनि विषयमा आफूले निर्णय गर्ने नभइ अम्पायरको भूमिका मात्रै निर्वाह गर्ने बताएर उनी एमसिसी संसदमा टेवल गर्न राजी भएका हुन्। यसअघि एमसीसी टेबल गर्ने विषयमा अनुदार देखिँदै आएका सापकोटाले आफूले भूमिका निर्वाह गर्ने बताएका हुन्।
बैठकपछि एमसीसीका विषयमा सोधिएको प्रश्नमा उनले भने, ‘सबै विषयमा खुला रुपले छलफल भएको छ। सबैले आ–आफ्नो धारणा राख्नुभएको छ। मैले खुला दिमागले गम्भीरतापूर्वक उहाँहरुको कुरा सुनेको छु। मैले स्वतन्त्र र निष्पक्षमा रुपमा काम गर्नुपर्छ। म त अम्पायर मात्रै हो, निर्णय उहाँहरुले गर्नुहुन्छ।’
केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुखले सरकारी प्रस्ताव रोक्न नमिल्ने, यदि रोकेमा राजीनामा दिनुपर्ने बताएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ४ गते बस्ने बैठक एमसीसी टेबल गर्ने तयारी अघि बढाएका छन्। यो सँगै एमाओवादी केन्द्र सदनबाट एमसिसी पा।ित गर्ने पक्षमा उभिएको प्रष्ट भएको छ ।
सापकोटाले कुनै पनि राष्ट्रिय महत्वका विषयमा दलहरुबीच सहमति हुन आवश्यक भएको औंल्याए। सदन सुचारु नहुँदा महत्वपूर्ण विधेयकहरु रोकिएको उल्लेख गर्दै बैठक चलाउन सबै गम्भीर हुनुपर्ने बताए।
‘राष्ट्रिय महत्वका विषयमा आम सहमति बन्दा राम्रो हुन्छ। त्यसका लागि पहल गर्नुपर्छ। आजको बैठकले सकारात्मक भएको छ। नागरिकता विधेयक पारित नहुँदा समस्या भएको छ। धेरैले मलाई ध्यानाकर्षण गराएका छन्, धेरै नागरिक नागरिकता नपाउँदा समस्यामा परेका छन्। हवाइ उडानसँग सम्बन्धित विधेयक छन्, त्यसलाई अघि बढाउन आवश्यक छ,’ सापकोटाले अगाडि भने, ‘यो छलफललाई जारी राख्नुपर्छ, उहाँहरुले पनि सदन खुलाउन छलफल जारी राख्छु भन्नुभएको छ।’
आफ्नो पार्टी विभाजन गर्न भूमिका खेलेको आरोप लगाउँदै प्रतिपक्षी एमालेले निरन्तर सदन अवरुद्ध पार्दै आएको छ।











