प्रमुख प्रतिपक्षी दल एमाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) का बारेमा एकीकृत धारणा ल्याउन सत्तारुढ गठबन्धनलाई आग्रह गरेको छ ।
नयाँबानेश्वरस्थित संसद भवनमा सोमबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेता तथा अध्यक्ष केपी ओलीले एमसीसीबारे सत्तारुढ गठबन्धनले एकीकृत धारणा ल्याउनुपर्ने बताउनु भएको हो ।
‘बैठकमा सांसदहरूले महाअभियोग प्रस्ताव र एमसीसीबारे पार्टीको धारणा आउनुपर्ने बताउनु भयो । उहाँहरूको कुरा सुनेपछि अध्यक्ष ओलीले गठबन्धनको एकीकृत धारणा आउनुपर्ने बताउनुभयो,’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भन्नुभयो, ‘गठबन्धनको एकीकृत धारणा नआउँदासम्म एमाले पर्ख र हेरको अवस्थामा बस्छ ।’
एमसीसीकाबारेमा सत्तारुढ गठबन्धन आवद्ध दलकै फरक फरक धारणा रहेको भन्दै एमालेले अहिले नै एमसीसीबारे आफ्नो पार्टी स्पष्ट धारणा नल्याउने बताएको हो ।











