नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकमा आगामी स्थानीय निर्वाचनमा अन्य पार्टीसँग नमिली जानुपर्छ भन्नेमा धेरै नेताहरुको धारणा देखिएको छ।
बैठकबाट बाहिरिँदै पूर्वमहामन्त्री सशांक कोइरालाले आफूसहित धेरै नेताहरुले आगामी निर्वाचनमा गठबन्धन बनाउनु नहुनेमा धारणा राखेको जानकारी दिए। उनले संवाददाताहरुसँग भने- स्थानीय निर्वाचनमा गठबन्धन बनाउनु हुँदैन भन्नेमा धेरैको मत देखियो। मैले पनि त्यही मत राखेँ।
त्यस्तै बैठकमा अमेरकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी पास गर्नुपर्छ भन्ने पक्षमा सदस्यहरुबीत एक मत भएको थियो। ‘एमसिसी पास गर्नुपर्छ भन्नेमा एक मत देखिएको छ,’ सशांकले भने।
बैठकमा पूर्वअर्थमन्त्री समेत रहेका डा. रामशरण महतले एमसीसी परियोजनाबारे विस्तृतमा चर्चा गरेका थिए। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले संक्षेपमा एमसीसीबारे लिखित सामग्री डा. महतसँग मागेको बैठकमा सहभागी नेता कोइरालाले बताए।
‘एमसीसी विद्युत र सडकका लागि हो र यो कुरा हामीले जनमानसमा भन्नुपर्छ भन्दै डा. रामशरण महतले लामो विवरण राख्नु भयो। उहाँले भन्नुभयो कि, यो हामीले लिनुपर्छ। त्यसपछि सभापतिजीले मलाई संक्षेपमा यसबारे लेखेर दिनु, साथीहरूसँग कुरा गर्छु भन्नुभयो’, कोइरालाले भने।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनपछि ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका थिए। समितिमा १३ पदाधिकारी, पूर्वपदाधिकारी तथा सभापतिले मनोनयन गरेका प्रभावशाली केन्द्रीय सदस्यहरू छन्।