स्थानीय तहको चुनावः कांग्रेसले हार्ने ठाउँमा मात्रै गठबन्धन गर्ने!

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धन गर्ने किन नगर्ने भन्ने विषयमा कांग्रेसभित्र घनिभूत छलफल सुरु भएको छ। चुनावमा गठबन्धन गरेर जाँदा फाइदा हुन्छ कि एकल प्रतिस्पर्धामा उत्रदा फाइदा हुन्छ भन्ने विषयमा चरण चरणमा नेताहरुबीच औपचारिक अनौपचारिक छलफल हुन थालेको हो।

सत्ता सहयात्रामा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीयदेखि केन्द्रसम्मको चुनावमा गठबन्धनका लागि जोड गरिरहे पनि कांग्रेसले ठोस जवाफ दिइसकेको छैन। चुनावमै केन्द्रित भएर कांग्रेस नेताहरुले मंगलबार पार्टी कार्यालय सानेपा र बुधबार प्रधानमन्त्री निवासमा जम्मा भएर छ कुराकानी गरेका छन्। पदाधिकारीहरुको अनौपचारिक छलफल नाम दिइएको बैठकमा आउँदो चुनाव केन्द्रित छलफलले प्राथामिकता पाएको नेताहरु बताउँछन्।

मंगलबार सभापति एवं प्रधानमन्त्री शेरबादुर देउवा उपस्थित नभए पनि बुधबारको भेलामा भने उनी बसेका थिए । एक पदाधिकारीका अनुसार कांग्रेसमा माओवादी र समाजवादीबीच आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्ने मत बलियोसँग उठेको छ।

कतिपय नेताहरु एकल ढंगले जानुपर्ने बताए पनि स्थानीय आवश्यकतालाई केन्द्रमा राख्नुपर्ने मत दुवै दिनका छलफलमा आएको ती नेताले जानकारी दिए। उनले भने, ‘कांग्रेसको तल्लो तहमा एक्लै चुनावमा जानुपर्छ भन्ने कार्यकर्ताको भावना छ। तर हामी एमालेलाई पराजित गर्ने गरी जानुपर्छ। जहाँ हामी एक्कै जित्छौँ त्यहाँ गठबन्धन किन गर्नुपर्यो र? नजित्ने ठाउँमा गठबन्धन आवश्यक हुनसक्छ।’

दुई दिन अनौपचारिक छलफलमा बसेका नेताहरु बिहीबार कार्यसम्पादन समितिको पहिलो बैठकमा सहभागी हुँदैछन्। उक्त बैठकमा औपचारिक ढंगले छलफल हुने सहमहामन्त्री जीवन परियारले बताए। उनले भने, ‘चुनावका बारेमा हामीले ठोस छलफल गरिसकेका छैनौँ। अब कार्यसम्पादन समितिको बैठकमै कुरा हुन्छ।’

केन्द्रको निर्देशनअुनसार बुधबार कास्कीमा पाँचै दलले वडा तहसम्म एमालेविरुद्ध गठबन्धन गर्ने निर्णय गरेका छन्। केही दिनअघि पोखरा पुगेका नेता रामचन्द्र पौडेलले पनि एक्कै नजित्ने ठाउँमा गठबन्धन आवश्यक रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए।

कास्कीमा गठबन्धन नगरी एमालेलाई जित्न नसक्ने मूल्यांकनसहित कांग्रेसले गठबन्धन गर्ने समझदारी गरेको हो। उक्त बैठकका लागि तीनवटा एजेण्डा तय भएको छ। स्थानीय तहको चुनाव, रोकिएका जिल्ला तथा तल्ला तहको अधिवेशन र भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशनबारे छलफल हुनेछ।

पाँच वर्षअघि माओवादीसँग मिलेर स्थानीय तहको चुनावमा गएको कांग्रेस एमाले भन्दा पछि परेको थियो। एमालेले २९५ स्थानीय तह जित्दा कांग्रेसले २६६ ठाउँमा मात्रै जित हासिल गरेको थियो।

उक्त विषयले कांग्रेसभित्र माओवादीसँगको गठबन्धन फलदायी नहुने मत बलियो छ। एमालेबाटै विभाजित एकीकृत समाजवादीले उसको भोट काट्ने भएकाले उसलाई बढी स्थान दिनुपर्ने धारणा पनि बैठकमा व्यक्त हुन थालेको नेताहरु बताउँछन्।