सिन्धुलीको कमलामाई नगरपालिकाको सबैभन्दा बिकट एवम् वत्तिमुनिको अँध्यारोको रुपमा रहेको वडानंं ४ को केरावारीका स्थानीय बासिन्दाहरु आफ्नो आँगनमैं गाडी आउन थालेपछि हर्षित बनेकाछन् । कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीकै सक्रियतामा नगरपालिकाले सबैभन्दा विकट मानिएको चियावारी, केवरे, केरावारी र बाँसकटेरी हुँदै मध्यपहाडी राजमार्ग जोड्ने सडकको आर्थिक वर्ष २०७६÷०७७ मा डिपिआर बनाएर बाग्मती प्रदेश सरकार समक्ष बुझाएको थियो । कमलामाई नगरपालिकाले बुझाएको सो सडक निर्माणलाई तत्कालिन बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले पनि साथ दिएपछि आर्थिक वर्ष २०७८÷०७९ मा २ करोड रुपैयाँ बिनियोजन भएपछि त्यस क्षेत्रका वासिन्दा निकै हर्षित भएका हुन् ।
७५ वर्षीय मंगल मुक्तानले आफ्नो घरै अगाडि गाडी आएकोमा धेरै खुशी लागेको सञ्चारकर्मीहरुलाई बताए । उनले हर्षित हुँदै भनेका थिएः ‘केरावारीमा यसरी बाटो बन्छ र मैंले गाडी चढेर सिन्धुली बजार जान पाउँछु भनेर सपनामा पनि सोचेको थिइँन, तर आज गाउँमा डाडी पनि आएको छ, बिजुली पनि बलेको छ र खानेपानी २४ सै घण्टा आइरहेको छ ।’
आधाघण्टाको दुरीमा रहेको खोल्साबाट गाग्रीमा पानी बोकेर खाएको अनुभव उनले सुनाए । उनका अनुसार र वर्षादको समयमा सिरकको खोल च्यातेर घमिलो पानी छानेर खाएको कुरा सुनाउँदा अहिलेका केटाकेटीहरुका लागि कथा जस्तै लाग्छ, मुक्तानले भने ।

जव नेकपा एमालेका तर्फबाट नेपाल वाजेका छोराले चुनाब जितेर आए, त्यसपछि भने हाम्रो गाउँमा खानेपानी र बिजुली बत्ति आएको उनको अनुभव छ । को हो ? नेपाल बाजे भनेर सोधेपछि उनले केही पर रहेका नगरप्रमुख खत्रीलाई देखाउँदै भनेः उ त्यहाँ उभिने नेपाल वाजेकै छोरा हुन् उनले भने । चुनावका बेला विजुली बत्ति, खानेपानी र मोटरबाटो बनाउँछु भनेका थिए तर सबै काम गर्छन् जस्तो लागेको थिएन, किनकी त्यस्तो कुरा बताउनेहरु धेरैले चुनाव जितेका थिए, हामीले थुप्रैलाई भोट हालेर जिताएका पनि थियौं, तर उनले आफुले बोलेको कुरा पुरा गरिदिए, मुक्तानले हर्षित हुँदै भने ।
मुक्तानको छेवैमा बसेका गैरीगाउँका ७१ वर्षीय कुलवहादुर थापाले पनि सही थप्दै भनेः कहिल्यै हाम्रो गाउँमा मोटर बाटो आउँछ भन्ने लागेको थिएन, तर केरावारीसम्म सडक बनेपछि आफ्नो गाउँसम्म बाटो बन्ने आशा जागेको छ । गाउँमा समस्यै समस्या भएका कारणले युवाहरु पलायन भएको र बुढाबुढी मात्रै रहेको बताउँदै उनले गाउँमा सडक पुगेपछि भने त्यो समस्यामा कमि आउने आशा व्यक्त गरेका थिए । गाउँमा त मलामी जाने मानिसनैं नहुने अबस्था सिर्जना हुँदैथियो, अब विजुली बलेर झमल भएपछि गाडी पनि पुग्दा सहज हुन थालेको उनको भनाई छ ।
गाउँमा बसेर लोकल कुखारा पालिरहेका स्थानीय २३ वर्षीय युवा ध्यानवहादुर घलान बजारीकरणको समस्या भएपछि व्यवसायबाटै पलायन भएको र अहिले उनी सिन्धुकै ढुंग्रेवासमा होटल व्यवसाय गरेर बसेको बताउँछन् । गाउँमा (केरावारी) गाउँको बीचभागबाट सडक निर्माण गर्नुपर्छ भन्दै समुदायमा एड्भोकेसी गरिरहेका उनले चियावारी, केवरे र केरावारी सडक सञ्जाल मध्यपहाडी राजमार्गसँग जोडिएपछि गाउँमैं व्यवसाय गर्न सकिने बताए । गाउँलेहरुको भेलामा उपिस्थित भएका ध्यानवहादुरको ध्यान भने कतै सडक बन्दा आफ्नो गाउँ भन्दा बाहिर जाने हो कि भन्ने कुरामा केन्द्रीत रहेको थियो । निकै टाठो र प्रष्टसँग गाउँलेका समस्याहरु राख्न सक्ने उनले एमालेले स्थानीय सरकार जितेपछि मात्रै आफुहरुको गाउँमा विकास आएको उनको भनाई छ ।
सोही गाउँकी २९ वर्षीया कविता श्रेष्ठले गाउँबाट आफन्तजनले विगतमा भोगेका समस्याहरु अहिले नरहेको बताइन् । उनले गाउँलेको भाग्य र भविश्यसँग जोडिएको सडक निर्माणमा गुणस्तरिय काम गर्नका लागि सबैले दबाब दिनुपर्ने बताइन् । संकटपूर्ण अबस्थाबाट जीवन यापन गरिरहेका गाउँलेहरुका लागि सडक, विजुली र पानीको सहजता निकै खुशीको विषय भएको सुनाइन् । हामीले हाम्रो जीवनमा पनि यस ठाउँमा विकासको पूर्वाधार आउँछ भन्ने लागेकै थिएन, तर ५ वर्षको अबधीमा हाम्रो गाउँमा विकासले प्रवेश पाएको छ, उनले भनिन् ।
निर्वाचनका बेला नगरप्रमुखसँगै त्यस क्षेत्रमा पुगेका कमलामाई नगरपालिकाका प्रवक्तासते रहेका कर्णवहादुर घिसिङले केरावारीका स्थानीय वासिन्दामा आएको परिवर्तन देखेर खुशी हुँदै भनेः पहिलाको केरावारी र अहिलेको केरावारीका निधै भिन्नता आएको छ । ‘पहिला खाना नखाई जान पाए हुन्थ्यो, भन्ने लाग्ने गरेको थियो, तर अहिले त्यस्तो लागेन, किनकी गाउँमा स्वास्थ्य र सरसफाई सम्बन्धी सचेतनाले सबैका परिवर्तन ल्याइसकेको रहेछ,’ प्रवक्ता घिसिङले केरावारीमा आएको सामाजिक परिवर्तन वारे टिप्पणीगर्दै भने । अव केही वर्षभित्रै केरावारी सडक सञ्जालले गर्दा व्यवसायको केन्द्र बन्ने छ । किनकी त्यहाँको उर्वर भूमिले सिन्धुलीमा तरकारीको मागलाई धान्नेछ ।
निर्वाचनका क्रममा केरावारीका स्थानीयसँग सडक, विजुली र खानेपानीको समस्या समाधान गर्ने बाचा गरेर उहाँहरुलाई विश्वास दिलाएको थिएँ, अहिले ती बाचाहरु पुरा हुने चरणमा पुगेको छ, कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले भने । चियावारीबाट निर्माण प्रारंभ गरिएको सडक केरावारीसम्म पुगेको र त्यसलाई मध्पडाही राजमार्गसम्म जोड्ने आफ्नो योजना रहेको उनले बताए । (साभारः कमलामाई फिचर सेवा)