कमलामाई नगरपालिकाले आज कार्यस्थलमा गएर मजदुरहरुको स्वास्थ्य बिमा गरिदिएको छ । मदन भण्डारी राजमार्ग निर्माण कार्यमा जुटिरहेका २० जना मजदुरहरुलाई आज नगरपालिकाको टोलीले वडा नं. ५ को साङ्वालेमा पुगेर स्वास्थ्य बिमा गरिदिएको हो ।
सडक निर्माण क्षेत्रमा पुगेर स्वास्थ्य मजदुरहरुको स्वास्थ्य बिमा गर्न पुगेकी कमलामाई नगरपालिका सामाजिक शाखाकी प्रमुख सत्यदेवी अधिकारीले जीवन रक्षाका लागि आफुहरु कार्यस्थलमैं पुगेर स्वास्थ्य बिमा गरिदिएको बताइन् ।
नगरपालिकाको नीति तथा कार्यक्रम अन्र्तगत मजदुरहरुको जीवन रक्षाका लागि स्वास्थ्य बिमा गर्न थालिएको बताउँदै अधिकारीले भनिन्ः स्वास्थ्य बिमा पछि मजदुरहरुले स्थानीय सरकार आफुहरुको पक्षमा रहेको महशुश गरेकाछन् ।
मदनभण्डारी सडकको नाला निर्माण कार्यमा खटिएका कमलामाई नगरपालिका वडा नंं ८ का केशववहादुर मुक्तानले आफु आफ्नो ५ जना परिवारका सदस्यसहितको स्वास्थ्य बिमा गरिदिएकोमा नगरपालिकालाई धन्यवाद दिए । सोही स्थानबाट आज १० जना मजदुरको स्वास्थ्य बिमा गरिएको शाखा प्रमुख अधिकारीको भनाई छ । सो क्षेत्रमा १७ जना मजदुरको नगरपािलकाले बिमा गराउनका लागि पहिचान गरेको छ ।
त्यसैगरी आजनैं सोही राजमार्गको शिवालय सडकखण्डमा १० जनाको स्वास्थ्य बिमा गरिएको छ । कार्यस्थलमैं खटिएका बिमा वोर्डकी दर्ता सहयोगी अमृता देवकोटाले फारम भरेपछि सामाजिक शाखाकी प्रमुख अधिकारीले कार्यस्थलमैं फाइल सदर गरेर निर्माण मजदुरको स्वास्थ्य बिमागर्दै कार्ड बितरण गरिएको हो । स्वास्थ्य बिमा कार्यक्रमको समन्वय सामाजिक शाखाका बबिन्द्रलाल माझीले गरेका थिए ।

कमलामाई नगरपालिकाले विगत तीन वर्षदेखी नगरक्षेत्रमा रहेका गिट्टी कुट्ने मजदुरबाट प्रारंभ गरेको स्वास्थ्य बिमा कार्यक्रम निर्माण कार्यमा खटिएका सबै मजदुरको तहसम्म लगेको छ । यो सँगै नगरपालिकाले सशस्त्र जनयुद्ध, जनआन्दोलनका घाइते तथा अपाङ एवम् शहिद परिवारका सदस्यहरुको पनि निःशुल्क स्वास्थ्य बिमा गरिरहेको छ ।














