प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी पारित गर्न सहयोग नगरे पाँच दलीय गठबन्धन टुटने घोषणा गर्नुभएको छ । चुनावको बिपक्षमा उभिएका सत्तारुढ गठबन्धनकै मुख्य दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई गठबन्धन गरेरै चुनावमा जाने भन्दै जेठभित्र स्थानीय तहको निर्वाचनमा सम्पन्न गर्ने सहमतिमा ल्याउनु भएका प्रधानमन्त्री देउवाले लगत्तै एमसीसीलाई निशर्त पारित गर्न सहयोग नगरे गठबन्धन टुटने घोषणा गरेका हुन् ।
चर्को दवावपछि पाँच दलीय गठबन्धनले शनिवार संबिधानअनुसार स्थानीय तहको निर्वाचन आगामी जेठ ५ गतेभित्रै गर्नुपर्ने यथार्थ स्वीकार गरी जेठभित्रै निर्वाचन घोषणा गर्न सरकारलाई सुझाव दिने निर्णय लिएको थियो । आफ्नो पार्टी पराजीत हुने त्रासका कारण चुनावमा जानै नहुने अडानमा रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गठबन्धन गर्ने भनेर चुनावमा सहमति गराएको बैठक सकिन साथ जनमोर्चा बाहेकका गठबन्धनका नेतासँग प्रधानमन्त्री देउवाले एमसीसीबारे छलफल गरेका थिए ।
छलफलमा प्रधानमन्त्री देउवाले फेब्रूअरी १ सम्म अनुमोदन नगराए अमेरिकाले एमसीसी परियोजना फिर्ता लैजाने बताएको भन्दै संसदबाट अनुमोदन गर्नुपर्ने बाध्यतामा आफू रहेको जनाई बटमलाइन सुनाएका थिए । बालुवाटारस्रोतले दिएको जानकारीअनुसार बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी पास नभए गठबन्धन कायम नरहने घोषणा गरेपछि प्रचण्ड र नेपाल तनाबमा रहेको बताइन्छ ।
स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री र नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच चर्काचर्की नै परेको थियो । श्रेष्ठले यही अवस्थामा संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने भन्दै चर्किएपछि प्रधानमन्त्री देउवा निकै जंगिएका थिए । ‘एमसीसी पारित गर्नैपर्ने बाध्यतामा म छु, अव यताउता होइन, संसदमा पेश हुन्छ, तपाईंहरुलाई मन लागे भोट हाल्नोस,’ बैठकमा प्रधानमन्त्रीको चेतावनी उधृत गर्दै कांग्रेसका एक नेताले भने ।