भारतबाट कञ्चनपुर फर्कनेको लर्को

कञ्चनपुरमा कोरोना संक्रमणदर दैनिक बढ्दो छ। छिमेकी मुलुक भारतबाट दिनहुँ स्वदेश फर्किनेको लर्को लागेपछि जिल्लामा कोरोना महामारीको खतरा बढेको हो। 

भारतमा दिनहुँ लाखौंको संख्यामा कोरोना संक्रमित थपिइरहेका छन् । भारतसँग सीमा जोडिएकाले कञ्चनपुरमा पनि त्यसको प्रभाव परेकाे छ। फलस्वरुप कञ्चनपुरमा पछिल्लो एक सातायता दैनिक सयभन्दा बढी संक्रमित थपिएका छन्। 

भारतमा कोरोना बढेपछि कामको सिलसिलामा त्यहाँ पुगेका कञ्चनपुरबासी गौरिफन्टा र गड्डाचौकी नाका हुँदै दैनिक सैयौंको संख्यामा जिल्ला फर्कने क्रम सुरु भएको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेका अनुसार भारतबाट कञ्चनपुर फर्कनेको संख्या दैनिक १५ सयभन्दा बढी छ।

पुस १९ गतेबाट जिल्लामा कोरोना संक्रमणदर बढ्न थालेको जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका सुपरभाइजर जनक कुवँरले काठमाडौं प्रेसलाई जानकारी दिए। त्यसमध्ये अधिकांश संक्रमित भारतबाट फर्किनेहरु नै रहेको उनले बताए। 

दैनिक सयभन्दा बढी संक्रमित 

एकसाता यता कञ्चनपुरमा दैनिक संक्रमितको संख्या बढेको देखिन्छ । बिहीबार मात्रै १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। तीमध्य १०५ जना भारतबाट फर्किएका छन्। 

प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार भारतबाट दैनिक फर्किनेमध्ये कम्तिमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लामा अहिले ७ सय बढी सक्रिय संक्रमित रहेको उनले जानकारी दिए। 

नाकामा हेल्थे डेस्क 

भारतबाट फर्किनेहरूमा कोरोना परीक्षण  गर्न गड्डाचौकी र गौरीफन्टा नाकामा हेल्थे डेस्क सञ्चालनमा छन्। नाका हुँदै घर फर्कनेहरू एन्टिजेन परीक्षणपश्चात मात्र जिल्ला प्रवेश गर्न पाउने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए। 

‘नाकामा नै उनीहरूको कोरोना परीक्षण हुन्छ,’ उनले भने, ‘पोजेटिभ देखिए आइसोलेसन सेन्टरमा पठाइन्छ, नेगेटिभ देखिएमात्रै घर पठाइन्छ।’

कोरोना नेगेटिभ देखिए पनि स्थानीय सरकार र प्रशासनले रेखदेख र निगरानी गर्ने सर्तमा घर पठाइने पाण्डे बताउँछन्। ‘नेगेटिभ देखिएकाहरूलाई केही दिन घरबाट बाहिर ननिस्कन र निस्कनै परे स्वास्थ्य मापदण्ड पालना गर्ने सर्तमा घर पठाइएको छ,’ उनले भने। 

कोरोना परीक्षण मात्र नभई नाकामा खोप अभियान पनि सञ्चालनमा रहेको प्रमुख जिल्ला अधिकारी पाण्डे बताउँछन्। ‘भारतबाट फर्केकाहररूशले कोरोनाविरुद्धको खोप लगाएका छैनन् भने नाकामा नै खोप लगाउने व्यवस्था गरिएको छ,’ उनले भने।