प्रमुख सत्तारुढ नेपाली कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग भएको प्रष्टाएको छ । कांग्रेसका महामन्त्रीद्धय गगन कुमार थापा र विश्वप्रकाश शर्माले लिपुलेक प्रकरणकारे पार्टीको धारणा सार्बजनिक गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केहिदिन अघि एक कार्यक्रममा व्यक्त गरेको भनाइप्रति ध्यानाकर्षण गर्दै यस्तो प्रष्टाएका हुन् ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमी भएको र विगत देखिनै संस्थागत रुपले राख्दै आएको यस सम्बन्धमा नेपाली कांग्रेसले आफ्नो धारणा र अडान स्पष्ट रुपमा राख्दै आएको समेत स्मरण गराएका छन् । वक्तव्यमा कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने, दुई राष्ट्र बीचको सीमा सम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्ने लगायका बिषयहरु समेत उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संसदले सर्वदलीय एकता साथ संविधान संशोधन मार्फत पारित गरेको नेपालको नक्सा सुगौली सन्धि पछिको नेपाल थियो, हो र त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने बिषय राजनैतिक दलहरू एवं नेपाल सरकार समेतको साझा अभिमत हो भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ । नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको बिषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।’
सिमा सम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्च स्तरीय कुटनैतिक माध्यमबाट खोजिनु पर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट रहेको समेत विज्ञप्तिमा उल्लेख छ ।
